आचार्य बालकृष्णले आचार्यकुलम् स्थापना गर्ने



परासी : पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम्’ स्थापना गर्ने भएका छन् । 

उनले जडीबुटी उत्पादन, प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि मङ्गलबार बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरे ।

आचार्यकुलम् गुरुकूल शिक्षाका साथै आधुनिक शिक्षा पद्धति अध्यापन हुने आवासीय शैक्षिक संस्था हो । यो शिक्षालय भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्तरुपमा सञ्चालन गरेका छन् । आचार्य बालकृष्णले आफूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि बर्दगोरिया क्षेत्र उपयुक्त देखेको बताए । 

उनले भने, 'यहाँका नागरिकले साथ र सहयोग गरेमा म यस क्षेत्रलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्न चाहन्छु । मेरो बाल्यकाल अभाव र सङ्घर्षमा बितेकाले गरिबका छोराछोरीलाई निःशुल्क पढाएर सेवा गर्ने इच्छा छ ।' उनले आफू नेपाली भएकाले पनि नेपाललाई समृृद्ध र स्वस्थ बनाउन चाहेको बताए । शिक्षित नेपाली, स्वस्थ नेपाली बनाउन नेपालका प्रत्येक प्रदेशमा आचार्यकुलम् र योगग्राम बनाउने इच्छा उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्