निर्मलाको हत्यारा बालुवाटार वा सिंहदरबारमा भए पनि छाडिन्नँ : गृहमन्त्री थापा



काठमाण्डौं : गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याको हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताए । 

 

नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो बताए हुन् । गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरे । 

 

जति पनि अपराध भइरहेको छ, विशेषगरि महिला हिंसा र महिलासँग सम्बन्धित त्यसमध्ये झण्डै ९६ प्रतिशत मुद्धाहरुको निराकरण गरेको भन्दै केही घटनाहरु मात्रै अपवादको रुपमा देखिएको बताए । 

 

निर्मला पन्तको हत्या यस्तै अपवादको रुपमा रहेकाले केही समय लागेको भन्दै उनले त्यसलाई जतिसक्दो छिटो टुंगो लगाउने गरी सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।  यस्तै गएको साउन २० गते काठमाण्डौको काडाघारीका ११ वर्षिय बालक निशान खड्काको हत्या प्रकरणमा संलग्नको ‘इन्काउन्टर’ मा ज्यान जानु स्वभाविक घटना रहेको गृहमन्त्री थापाले बताए । 

 

अपराधीहरुलाई पक्रने क्रममा प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा उनीहरुको ज्यान गएको गृहमन्त्रीले प्रस्ट पारे । 

प्रतिक्रिया दिनुहोस्