रुकुमपूर्वमा चार दिनदेखि निषेधाज्ञा



रुकुम पूर्व : सदरमुकाम सम्बन्धी विवादका कारण रुकुमपूर्व चार दिनदेखि तनावग्रस्त छ । स्थायी सदरमुकाम कायम गर्न माग गर्दै रुकुमकोटका स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् भने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाँडाका स्थानीयबासी आन्दोलित भएका छन् ।  गोलखाँडा सरोकार समितिले माघ २२ गते रुकुमकोटमा जुलुस निकाल्ने तयारी गरेपछि रुकुमकोट पक्षधरले आन्दोलन गर्न नपाइने भन्दै अवरोध गरेपछि तनाव सिर्जना भएको हो ।

अस्थायी सदरमुकाम रुकुमकोटमा आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि गरिएको निषेधित क्षेत्र घोषणा जारी छ । रुकुमकोटको चार किल्लाभित्र सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रम गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । रुकुमकोट पक्षधर आन्दोलनकारीले सिङ्गो रुकुम जिल्ला हुँदा रुकुमकोटबाट सदरमुकाम खोसिएको भन्दै  यसपटक चुप लागेर नबस्ने बताएका छन् । गोलखाँडा सदरमुकाम पक्षधरले पनि कुनै हालतमा सदरमुकाम गोलखाँडामा लगेरै छोड्ने बताउँछन् ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाँडामा राख्ने निर्णय गरेसँगै रुकुमकोट र त्यस आसपासका नागरिक आन्दोलनमा उत्रिएका थिए । त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो ।  

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि मत्थर भएको आन्दोलन पुनःमाघ १४ गतेबाट रुकुमकोट सदरमुकाम पक्षधर र गोलखाँडा पक्षधरले सशक्त बनाएका हुन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुबै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्