अझै लाखौं नेपाली नागरिकता विहीन : उपप्रधानमन्त्री यादव



लन्डन : उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै  सुनिश्चित भइसकेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गैरआवासीयलाई संविधानले नै स्वीकार गरिसकेको र विदेशमा बस्ने नेपाली जन्मसिद्ध नागरिक भएकाले उनीहरुलाई अवमूल्यन गर्न नहुने बताए।

 

अल्डरशटमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘गैरआवासीय नेपालीहरु नेपालको ‘नेचुरल सिटिजन वाई ओरजिन’ हुन्। उनीहरु नेपाली नागरिक नै हुन, त्यसलाई अस्वीकार गर्न सकिन्न्।’

 

नेपालको तराई मधेसमा अझै लाखौं नेपाली नागरिकता विहीन रहेको भन्दै मन्त्री यादवले भने, ‘अहिलेसम्मको कानून र संवैधानिक व्यवस्थाले नेपालमै जन्मिएको नेपाली नागरिकको सन्तान गैरनागरिक बनेर बस्ने अवस्था छ।

 

बाबुआमा नेपालमै जन्मेको व्यक्तिलेसमेत नागरिकता नपाउनेको संख्या लाखौं छ।’ उनले नेपालको राज्य व्यवस्थाले नै आफ्ना नागरिकलाई नचिनेर विदेशी भन्दै आएको दावी गरे। यादवले संसदमा दर्ता भएको नागरिकता सम्वन्धि विधेयकबाट सबै प्रकारका नागरिकताको समस्याको समाधान गर्न प्रयास गरिने बताए।

 

‘नागरिकता राष्ट्रियतासँग जोडिएको हुन्छ त्यसैले नेपाली संसारमा जहाँ भए पनि आफ्नो राष्ट्रिय पहिचान राख्न चाहान्छ भने नागरिकता दिन कन्जुस्याइँ गर्नु हुदैन’ यादवको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्