लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी पहिलो स्थानमा



लन्डन : उपाधि जोगाउने अभियानमा रहेको साविक विजेता म्यानचेस्टर सिटी लामो समयपछि इङ्लिस प्रिमियर लिग तालिकाको पहिलो स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटी बिहीबार बिहान खेलिएको खेलमा एभर्टनलाई उसैको मैदानमा २-० गोलले हराउँदै लिग तालिकाको पहिलो स्थानमा उक्लिएको हो।

म्यानचेस्टर सिटीले गत आइतबार आर्सनललाई ३-१ गोलले हराएको थियो। लिभरपुल भने आफ्नो पछिल्लो खेलमा वेस्टहाम युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। सोही नतिजाको फाइदा उठाउँदै म्यानचेस्टर सिटी तालिकाको पहिलो स्थानमा उक्लिएको हो।

म्यानचेस्टर सिटी सन् २०१८ को डिसेम्बर १५ तारिखपछि पहिलो पटक लिग तालिकाको पहिलो स्थानमा फर्किएको हो। लिभरपुलसँग अंक समान भए पनि गोलअन्तरका आधारमा म्यानचेस्टर सिटी अगाडि बढेको हो। यद्दपि, लिभरपुलले म्यानचेस्टर सिटीभन्दा एक खेल कम खेलेको छ।

एभर्टनविरुद्धको खेलमा म्यानचेस्टर सिटीले दुबै हाफमा एक/एक गोल गरेको थियो। पहिलो हाफको इन्जुरी समयमा डिफेन्डर आइमेरिक लापोर्टले म्यानचेस्टर सिटीका लागि पहिलो गोल गरेका थिए। उनले जारी सिजनमा गरेको यो चौथो गोल हो।

लापोर्टले जारी सिजनमा चारवटै गोल विपक्षीको मैदानमा गरेका हुन्। यसैगरी दोस्रो हाफको इन्जुरी समयमा ग्याब्रियल जिससले अर्को गोल थप्दै म्यानचेस्टर सिटीलाई सजिलो जित दिलाए। म्यानचेस्टर सिटीले सबै प्रतियोगितालाई मिलाएर आफूले खेलेका पछिल्ला ११ खेलमध्ये १० खेलमा जित हात पारेको छ। यस अवधिमा म्यानचेस्टर सिटीले ३९ गोल गरेको छ भने केवल पाँच गोल खाएको छ।

प्रतिक्रिया दिनुहोस्