भेरी–बबई: फागुन १५ भित्र ब्रेक थ्रु



सुर्खेत: राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण अन्तिम चरणमा पुगेको छ। नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)ले मंगलबारसम्म ११ हजार एक सय मिटर सुरुङ निर्माण गरेको छ। आयोजनाले फागुन १५ भित्र ‘ब्रेक थ्रु’ (निर्माण सम्पन्न) गर्ने तयारी गरेको छ। सुरुङको लम्बाइ १२ हजार मिटर हो। ‘अब नौ सय मिटर सुरुङ निर्माणको काम बाँकी छ, टनेल ‘एक्जिट’का लागि भेरीको चिप्लेमा प्लेटफर्म निर्माण सम्पन्न गरिसकेका छौं,’ आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘फागुन १५ भित्र टनेल निर्माणको काम सम्पन्न हुन्छ।’

आयोजनाका अनुसार टनेल निर्माणको काम सम्पन्न भएपछिको तीन महिना ‘फिनिसिङ’मा समय लाग्नेछ। ‘टनेलभित्रका केही संरचना हटाउन र सरसफाइ गर्न तीन महिनाको समय अनुमान गरेका छौं,’ आयोजना प्रमुख बरालले भने, ‘फिनिसिङसँगै विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको कामलाई तीव्रता दिन्छौं।’ आयोजनाले २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘रिक्सजोन’ सहजै पार भएकाले लक्ष्यभन्दा एक वर्षअगावै सुरुङ निर्माणको काम सम्पन्न हुन लागेको आयोजनाले जनाएको छ।

यो आयोजनाको सुरुङमा २०७३ कात्तिकदेखि टिबिएमले काम सुरु गरेको थियो। टनेल निर्माणको जिम्मा चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले लिएको छ। भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। सुरुङ निर्माणका लागि करिब सात सयजना नेपाली र ८० जना चिनियाँ कामदारले दुई सिफ्टमा काम गरिरहेका छन्।

आयोजनाले सुरुङ निर्माणसँगै भेरीको चिप्लेमा बाँध (ड्याम) निर्माण र हात्तीखालमा विद्युत्गृह (पावरहाउस) निर्माणका लागि प्रक्रिया सुरु गरेको छ। सिँचाइ विभागले ड्याम र पावरहाउस निर्माणका लागि फागुन १० गतेको अन्तिम मिति राखेर टेन्डर आह्वान गरेको खवर नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्