पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, किन भएन मर्मतको पहल ? 



धादिङ: राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ। साँधुरो पुलको दायाँबायाँका डन्डी भत्किएका छन्। पैदल हिँड्न पनि जोखिमपूर्ण छ। दुई वर्षअघि यस पुलबाट चितवन जाँदै गरेको माइक्रोबस खसेर एकजनाले ज्यान गुमाएका थिए। त्यस्तै एक वर्षअघि टिपर खस्दा चालक घाइते भएका थिए। दुई वर्षअघि भत्किएको पुलको बार अहिलेसम्म पनि मर्मत भएको छैन।

गल्छी गाउँपालिकास्थित चिरौदी खोलाको पुल पनि उस्तै अवस्थामा छ। पुलमा ट्रकहरु एकतर्फी रुपमा मात्र गुड्ने गर्छन्। पुलको छेवैमा बिग्रिएको सडकले झनै दुर्घटनाको जोखिम बढाएको छ। पुलको पूर्वी मुखमा खाल्डाखुल्डी भएका कारण मोटरसाइकल स्पिडमा आएका बेला दायाँबायाँ ठोक्किने गरेका छन्। यता बेनिघाट रोराङ गाउँपालिकामा रहेको हुग्दीखोला पुललाई आसपासका स्थानीयले ‘ज्यानमारा पुल’ को संज्ञा दिएका छन्। हुग्दीखोलाका स्थानीयको आँखैअगाडि उक्त पुलबाट खसेर दर्जनौं यात्रुले ज्यान गुमाइसकेका छन्।

पुलबाट सवारीसाधन खसेर ज्यान गुमाएका घटना देखिरहने भएका कारण ज्यानमारा पुल भनिएको स्थानीय सन्तोया धरेलले बताए। ‘भीरबाट ढुंगा गुल्टिएजसरी यो पुलबाट गाडी खसेको देखेका छौं’, धरेलले भने, ‘खाँदै गरेको भात छाडेर खसेको गाडीमा च्यापिएका यात्रुको उद्धारमा जाने गरेका छौं।’ यस पुलका दायाँ र बायाँका बार भाँचिएका छन्। जसका कारण दुई सवारीसाधन ठोक्किएमा सीधै खोलामा पुग्छन्। एक वर्षको अवधिमा ६ वटा सवारीसाधन उक्त पुलबाटै खसेका छन् भने पुलवारि र पारि गरी थप तीन दुर्घटना भएका छन्।

‘सवारीसाधनको सुरक्षाका लागि पुलमा राखिएको बारले मोटरसाइकलसमेत जोगाउँदैन’, धरेलले भने, ‘एकपटक सवारीसाधनले पुलको बार भत्काएपछि पुनः सडक विभागले उस्तै प्रकृतिको बार बनाउँछ तर त्यसले पनि सवारी साधनलाई दुर्घटना हुनबाट जोगाउन सकेको छैन।’ पुलबाट पटकपटक सवारीसाधन खस्न थालेपछि धेरैथरीका इन्जिनियर अध्ययनका लागि पुगेका थिए तर दुर्घटना कम गर्ने उपाय अवलम्बनतर्फ कसैको ध्यान पुगेको छैन। पुलको मुखैमा रहेको ओरालो सडक र साँघुरो घुम्ती सुधार नगरे राजमार्गमा यात्रा गर्नेले अकालमै जान गुमाउनुपर्ने हुन्छ। राजमार्गका पुराना पुलहरु निर्माण नहुँदा यात्रा गर्नेले जोखिम मोल्नुपरेको छ नै, स्थानीय पनि क्रसित छन्।

स्थानीयका अनुसार हुग्दीखोलाको पुलबाट अहिलेसम्म ६ वटा बस र सयभन्दा बढी ट्रक तथा जिप खसेका छन्। दुर्घटनामा परी धेरैले ज्यान गुमाएका छन् भने घाइते भएकाको लेखाजोखा छैन। काठमाडौंबाट मुग्लिनतर्फ जाने बाटोमा पुलको मुखैमा साँघुरो घुम्ती हुनु नै दुर्घटनाको मुख्य कारण भएको स्थानीय बताउँछन्। पुलको मुग्लिन साइडपट्टि सडक सीधा छ तर पुलको मुखैमा घुम्ती छ। त्यसैले तीव्र गतिमा आएका सवारीसाधन पुलको मुखमा दुर्घटनामा पर्ने गरेका छन्। पुलमा १४ चक्के र १६ चक्के गाडी आइपुगेका बेला साँघुरो मोड भएपट्टिबाट गुडेका सवारीसाधन ठक्कर खाने डरले ब्रेक लगाउँदालगाउँदै पुलबाट खस्ने गरेका नागरिकमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्