ट्वान्टी–२० विश्वकप छनोट एशिया : पूर्व क्षेत्रको उपाधी नेपाललार्इ



काठमाडौँ : मलेसियामा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप छनोट एशिया पूर्व क्षेत्रको उपाधी नेपालले जितेको छ । वर्षाले खेल हुन नसकेपछि पाँच खेलमा समान अंक भएका नेपाल र सिंगापुरले अंक बाँडेका हुन् । यससंगै नेपाल नेट रनरेटका आधारमा विजेता घोषित भएको हो ।

 

पानी परेर खेल रोकिनुअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ०.३ ओभरमा एक रन बनाएर एक विकेट गुमाउँदा पानी परेर खेल रोकिएको थियो । पानी नरोकिएकाले नेपाल र सिंगापुरले ११ अंक बाँडेका हुन् ।

 

यसअघि सिंगापुरका सुरेन्द्रन चन्द्रमोहन सर्वाधिक २५ रन बनाए । सो क्रममा उनले ३ चौका प्रहार गरेका थिए । यस्तै मनप्रित सिंह तथा सिद्धान्तले समान १०/१० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । ३.३ ओभरमा उनले १६ रन खर्चिए । यस्तै करण केसी र सोमपाल कामीले समान २र२ विकेट लिए भने वसन्त रेग्मी र ललित राजवंशीले पनि १/१ विकेट हात पारे ।

 

यता नेपालको पानीले खेल रोकिनु अघि अनिल शाह शून्य रनमा आउट भएका थिए । यसअघि भएका पाँच खेलमा नेपालले सहज जित निकालेको थियो । यससंगै नेपालले चार वर्षपछि ट्रफी स्वदेश भित्र्याएको छ । सन् २०१४ पछि नेपालले पहिलो पटक कुनै प्रतियोगिताको उपाधि जितेको हो। यसै बर्ष फेब्रुवरीको डिभिजन-२ को फाइनलमा नेपाल युएईसंग पराजित भएको थियो ।

 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटको नतिजामा पराजित गरेको थियो भने भने चीनलाई १० विकेटले हराएको थियो । थाइल्यान्डमाथि १ सय ७२ रनले विजय निकालेको नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो ।

 

नेपालले अब अर्को वर्ष हुने एशिया क्षेत्रीय छनोट खेल्नेछ । जसमा नेपालसहित यूएई, सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । प्रतियोगिताका उत्कृष्ट दुई टोलि अष्ट्रेलियामा सन् २०२०मा हुने विश्वकपको छनोटका लागि छानिनेछन् ।

प्रतिक्रिया दिनुहोस्