रियल म्याड्रिडसँग बराबरीमा रोकियो बार्सिलोना



बार्सिलोना: स्पेनिस फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिडबीचको बहुप्रतिक्षीत भिडन्त बराबरीमा सकिएको छ। यी दुई परम्परागत प्रतिद्वन्द्वीबीचको भिडन्त विश्व फुटबलमा थुप्रै समर्थकको चासोको विषय बन्ने गरेको छ। कोपा डेल रे फुटबलको बिहीबार बिहान खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई उसैको मैदानमा १-१ गोलको बराबरीमा रोकेको हो। सेमिफाइनलको दोस्रो लेग खेल अब रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ।

नोउ क्याम्पमा खेलिएको पहिलो लेग खेलको प्रारम्भमै अग्रता लिएर पनि रियल म्याड्रिडले त्यसलाई जोगाउन सकेन। खेल सुरु भएको छैटौं मिनेटमै रियल म्याड्रिडका लागि लुकास भासक्वेजले पहिलो गोल गरेका थिए। उनले अनुभवी खेलाडी करिम बेन्जेमाले उपलब्ध गराएको कलात्मक पासमा गोल गरेका थिए।

सोही गोलका कारण पहिलो हाफमा रियल म्याड्रिड अगाडि रह्यो। तर, खेलको ५७औं मिनेटमा माल्कोमले जवाफी गोल गर्दै बार्सिलोनालाई सम्भावित हारबाट जोगाए। बार्सिलोनाले आफ्ना प्रभावशाली अर्जेन्टिनी खेलाडी लियोनल मेसी बिना नै खेल अगाडि बढाएको थियो।

चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्दको खेलमा बार्सिलोनाले लुइस स्वारेज, फिलिप कोउटिन्हो र माल्कोमलाई आक्रमणको जिम्मेवारी सुम्पिएको थियो। तर, खेलको ६३ औं मिनेटमा बार्सिलोनाले कोउटिन्होको स्थानमा मेसीलाई मैदानभित्र प्रवेश गराएको थियो।

प्रतिक्रिया दिनुहोस्