डडेल्धुराको महाभारतमा रोयल बंगाल देखा परेपछि पुन : क्यामेरा ट्रयापिङ



धनगढी :डडेल्धुराको महाभारत वन क्षेत्रमा दोस्रो चरणको क्यामेरा ट्रयापिङ सुरु भएको छ ।
उक्त क्षेत्रमा पहिलो पटक रोयल बंगाल टाइगर (पाटेबाघ) देखिएपछि दोस्रो चरणको क्यामेरा ट्रयापिङ सुरु गरिएको हो ।

जिल्लाको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा समुद्री सतहदेखि २५०० मिटरको उचाइमा पाटे बाघको इमेज ट्रयाप भएको थियो । ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रमा वन्यजन्तुको अध्ययन गर्ने क्रममा पाटे बाघ क्यामेरा ट्रयापिङमा परेको थियो ।

वन विभाग, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षणकर्मीहरूसँग भेरिफाइ गर्दा नेपालको त्यति उचाइमा पाटे बाघ भेटिएको पहिलो घटना भएको पुष्टि भएको थियो । दोस्रो चरणको अध्ययन गर्नको लागि ३० जोडी क्यामेरा जडान गरिएको जनाइएको छ ।

तराइ तथा भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा भागेश्वर करिडोरमा पाटेबाघलगायत अन्य वन्यजन्तुको उपस्थितिको दोस्रो चरणको अध्ययन गर्नको लागि क्यामेरा जडान गरिएको हो ।

यस पटकको अध्ययन परशुरामधाम सव डिभिजन अन्तर्गत पर्ने वनक्षेत्र (महाकाली नदीको किनारासम्म र साविकको शीर्ष गाविस) र भागेश्वर सव डिभिजन अन्तर्गतको रुपाल क्षेत्रसम्म गरिने डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उक्त कार्यका लागि वन कार्यालयको तर्फबाट ५ जना सहयोगी र तराई तथा भूपरिधि आयोजनाको तर्फबाट ५ जना क्यामेरा ट्रयापिङ प्राविधिक खटाइएको उनले बताए । उनका अनुसार शुक्रबारदेखि एक महिनाको लागि ३० जोडी क्यामेरा राखिने छन् ।

उनले ट्रयापिङ गर्नमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी, नागरिक समाज, सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्