प्रदेश २ मा ६६६ को स्वाब परिक्षण, ६१६ को नेगेटिभ, ५ को पोजेटिभ, ४५ जनाको नतिजा आउन बाँकी



जनकपुरधाम : प्रदेश २ मा १ हजार ५ सय भन्दा बढि स्वाब कलेक्सन गर्ने लक्ष्यका साथ सुरु गरिएको परिक्षणमा शुक्रबारसम्म ६ सय ६६ जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

ती मध्ये ५ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ देखिएको छ भने ६ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ६ सय ५ बेड क्षमताको १ सय ६४ वटा क्वारेन्टाइनमा १ हजार ३ सय ६६ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले १ हजार ६ सय ३९ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २७ बेड क्षमताको आईसोलेसनमा १३ जना भर्ना रहेको उनले बताए । प्रदेश २ मा संक्रमित पाँचैजनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ३ जना, महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना, सिमरास्थित अस्थायी उपचार कक्षमा ३ जना, राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा १ जना र गरि ६ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्