हेटौंडामा हातले नछोई पानी आउने धाराको स्टेशन स्थापना



हेटौंडा : हेटौडाको ४ स्थानमा ‘कन्ट्याक्ट लेस’ अर्थात हातले छोइरहनु नपर्ने, हात धुने स्टेशन स्थापना गरिएको छ ।

यसको स्थापनापछि न हातले धाराको टुटी घुमाईरहनु पर्छ, न पानी आएपछि बन्द गर्न धाराको टुटी बन्द नै गर्नुपर्छ । धारा नछोइक नै साबुन पानीले हात धुन सकिन्छ ।

हात धुने स्टेशन हेटौंडा उपमहानगरपालिकाको बुद्ध चोक, बसपार्क, हेटौंडा अस्पताल र मानस चोकमा छुट्टा–छुट्टै कार्यक्रम गरी प्रारम्भ गरिएको हो ।

कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाईसमेत सर्ने भएकाले हातले नछोईकन हात धुन मिल्ने प्रविधि ल्याईएको छ । कोरोना भाइरसको त्रास बढेको समयमा हेटौंडा बजार क्षेत्र ओहोर दोहोर गर्ने नागरिकका लागि हात धुन सजिलो होस् भन्ने उद्देश्यले ट्याङकी राखिएको छ ।

हेटौंडाका सम्पूर्ण लायन्स तथा लियो क्लबहरुको संयोजन तथा गोदावरी स्टिल्स प्रा.लि लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष लायन सरोज पोख्रेल र पूर्वअध्यक्ष लायन रविन्द्र घिमिरेको सौजन्यमा स्थापना भएका ती स्टेसनको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, प्रमुख जिल्ला अधिकारी दिपक नेपाल, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टिकाबहादुर कार्कीले उदघाटन गरेका हुन् ।

मकवानपुरका सम्पूर्ण लायन्स तथा लियोहरु सामाजिक दुरी कायम गरि उपस्थित भएका उक्त कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ बि २ का भिडिजी शम्भु नकर्मीले लायन्स क्लबको उद्देश्य र सामाजिक र बिपदको बेला लायन्स क्लबले खेलेको भुमिका उच्च रहेको बताए ।

उदघाटन कार्याक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपमहानगरपालिकाका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सामाजिक अभियानता, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थित रहेको थियो ।

हाल हेटौडाका ४ स्थानमा नछोई पानी आउने धाराको निर्माण गरिएको भए पनि अझै ४ वटा धारा निर्माण गरिन लागिएको लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष लयन सरोज पोख्रेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्