म्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चारमाध्यम



म्याग्दी : गण्डकी प्रदेशअन्तर्गतको पहाडी जिल्ला म्याग्दीको समग्र विकास र जनचेतना विस्तारमा यहाँ सञ्चालित सञ्चारमाध्यम प्रभावकारी र परिणाममुखी बन्दै गएका छन् । सञ्चारमाध्यमको विकास र विस्तारसँगसँगै जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक क्षेत्रका गतिविधिमा जनचासो र निगरानी बढ्दै जान थालेको छ ।

 

लैंगिक र जातीय विभेद, घरेलु हिंसा, भ्रष्टाचार, सामाजिक कुरीति र अन्धविश्वास निरुत्साहित हुँदै गएका छन् । ग्रामीण क्षेत्रका कृषकले सञ्चारमाध्यमबाट प्राप्त गरेको सूचना र समाचारबाट उत्प्रेरित भई व्यावसायिक रुपमा तरकारी, फलफूल खेती र पशुपालन गर्न थालेका छन् । जसले गर्दा उनीहरुको आयआर्जनसमेत बढेको छ । उनीहरुको जीवनस्तरमा समेत परिवर्तन देखिएको छ ।

२०६२/६३ सालअघिको तुलनामा म्याग्दीमा अहिले ५०औं गुणा बढी सञ्चारमाध्यम सञ्चालनमा छन् । सञ्चारमाध्यमको वृद्धि र यसको ग्रामीण क्षेत्रसम्मको पहुँचका कारण अहिले समाजमा परिवर्तनका सकारात्मक संकेत देखिन थालेका छन् । सञ्चार अब म्याग्देली जनताको ढुकढुकी नै बनिसकेको छ । सरकारी सञ्चारमाध्यमसँगै निजी सञ्चारमाध्यमको पनि लोकप्रियता बढ्दो छ ।

लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीमा पछिल्लो समयमा आएर रेमिट्यान्स र कारोबारका कुराभन्दा पनि घटना, सरोकार, विकास र वातावरणसम्बन्धी कुरा बढी सुनिन थालेका छन् । जिल्लामा एफएम रेडियोको सुरुआतसँगै जनतामा समाचार सुन्ने, विश्लेषण गर्ने, आफ्नो गाउँठाउँमा भएका खबर सार्वजनिक गर्ने र सामाजिक कामप्रति अग्रसर हुने प्रवृत्ति बढ्दै जान थालेको छ । यसमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समिति म्याग्दीका सभापति देवेन्द्रबहादुर केसीले बताए ।

देशमा भएको राजनीतिक परिवर्तनसँगै म्याग्दी जिल्लामा पनि सञ्चारको विकास भएको हो । म्याग्दीमा विकास भएको सञ्चारजगतले समाज परिवर्तनका लागि राम्रै भूमिका निर्वाह गरेको छ । त्यसो त पत्रकारिताको विषयलाई लिएर कहिलेकाहीं जिल्लामा टीकाटिप्पणी पनि नहुने होइनन् तर तिनको आशय पनि जिल्लामा स्वतन्त्र पत्रकारिताको विकास र तटस्थ सञ्चारमाध्यमको भूमिकामा नै केन्द्रित हुने गरेको पाइएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

म्याग्दीकोे पत्रकारिता फस्टाउँदो अवस्थामा छ । अहिले सदरमुकाम बेनीबजारमा २ दैनिक, ४ साप्ताहिक पत्रिका, २ वटा एफएम रेडियो र ६ वटा अनलाइन पत्रिका  सञ्चालनमा छन् । रुप्से दैनिक, रिखार दैनिक, बेनी साप्ताहिक, सम्मृद्ध साप्ताहिक, म्याग्दी सञ्चार साप्ताहिक, नवविकल्प साप्ताहिक, म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, बेनी अनलाइन, म्याग्दी अनलाइन, नवविकल्प अनलाइन, रुप्से अनलाइन, पश्चिम म्याग्दी अनलाइन र गलेश्वर न्युज अनलाइन सञ्चालनमा छन् ।

 

त्यसैगरी काठमाडौं, पोखरा, कुस्मा र बागलुङबाट प्रकाशित र प्रसारित पत्रपत्रिका, रेडियो र टेलिभिजनको समेत म्याग्दीमा राम्रो पहुँच रहेको छ । धौलागिरिको पहिलो एमएम रेडियो धौलागिरि एफएम र धौलागिरि टेलिभिजनले पनि म्याग्दीको समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । म्याग्दीमा  रहेका सञ्चारमाध्यम विशेषगरी सामाजिक जागरण र आर्थिक समृद्धितर्फ अग्रसर देखिएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको  बुझाइ छ ।

समाजमा विद्यमान कुरीतिदेखि लिएर जनजीविका, संस्कार र संस्कृति संरक्षण, लागूपदार्थ सेवन र यसको असरदेखि लिएर जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, राजनीतिलगायतका क्षेत्रमा यहाँका सञ्चारकर्मीले बढी कलम चलाएका कारण पनि अहिले जनतामा चेतनाको विकास भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष बेलबहादुर कटुवालले बताए । दाइजो प्रथा, बहुविवाह र बालविवाह कानुनको हिसाबले दण्डनीय रहेछन् भत्रे कुरा सञ्चारमाध्यमबाटै यहाँका आम नागरिकले थाहा पाएका छन् । 

सञ्चारमाध्यमकै पहुँचका कारण गाउँमा हुने विकास निर्माणका काममा भ्रष्टाचार हुने क्रम घट्दै गएको स्थानीयले बताएका छन् । अर्जुन मावि भकुन्डेचौरका प्रधानाध्यापक शिवकुमार खत्री भन्छन्, ‘रेडियो र पत्रपत्रिकामा नाम आउँछ भनेर पनि कति मानिस सार्वजनिक काममा सरिक हुन थालेका छन्, संघसंस्थामा नेतृत्व लिन पनि तछाडमछाड गर्न थालेका छन् ।’

महिलामाथिका सामाजिक अपराध र घरेलु हिंसाका समाचारसमेत यहाँका सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेपछि जिल्लामा घरेलु हिंसाका घटनामा कमी आएको महिला अधिकारकर्मी एवं मिलन म्याग्दीका सहजकर्ता हीरा पौडेलको भनाइ छ । यहाँका पत्रकारले  परोपकारी पत्रकारिताको अभ्यास गरिरहेका र परोपकारको क्षेत्रमा म्याग्दीका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

 

त्यसैगरी समाजमा कुनै महिला पीडित भएमा प्रहरीलाई उजुरी दिनुपर्छ भत्रे चेतनाको विकास राम्रैसँग भएको पाइएको र यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको महिला अधिकार रक्षक सञ्जालकी अध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले  बताइन् ।

 

समाज परिर्वतनका लागि विभित्र पत्रपत्रिका र एफएमहरू म्याग्दीमा क्रियाशील भए पनि यहाँका सञ्चारमाध्यम राज्यबाट प्रदत्त सुविधाबाट भने ठगिएका  छन् । यहाँबाट  प्रकाशन हुने प्रायः सबै पत्रिका र एफएम  लोककल्याणकारी विज्ञापन पाउनबाट वञ्चित छन् । सरकारी कार्यालयका सूचना तथा विज्ञापन समानुपातिक रुपमा एकद्वार प्रणालीबाट वितरण नगरिँदा एकदुई सञ्चारमाध्यमले मात्र फाइदा लिइरहेका छन् । यसतर्फ भने राज्यले चासो दिन अत्यन्तै आवश्यक  देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्