फुर्सदको बेला मानसिक तनाब !



गोपाल ढकाल
फुर्सदको बेला पनि मानसिक तनाब ? उफ् ! कुरा सुन्दा पनि अचम्म लाग्यो होला ! हो फुर्सदको समयलाई व्यवस्थापन गर्न जानिएन भने तथा सदुपयोग गर्न सकिएन भने थप मानसिक तनाव थप बढेर जान्छ ।

व्यस्त समयमा , कामको चाप हुँदा त समयको व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ । तर फुर्सद हुँदा पनि समयको व्यवस्थापन गर्नुपर्छ र ! भन्ने हामीलाइ लाग्न सक्छ । तर फुर्सदको बेलामा पनि समयको ब्यबस्थापन गर्नुपर्छ । नत्र दिनहरु पट्टयार लाग्दा हुन्छन । समय नै काट्न मुस्किल पर्छ।

कोरोनाको प्रकोपको कारण अहिले लकडाउन गरिको अवस्था छ । कोरोना भाइरसको संक्रमणवाट जोगिन धेरै नेपाली तीन साता भन्दा लामो समय देखि घरमै लकडाउनको अवस्थामा छन । घरभित्रै सेल्फ क्वारेन्टाइनमा समय बिताइरहेका छन् ।

मानिस स्वभावले सधै सक्रिय हुन चाहने प्राणी हो ।तर लकडाउनले दैनिक रुपमा गर्दै आएको काम, व्यवसाय गर्न पाएको छैन। हामी पुरैजसो फुर्स्दिलो भएका छौ । हाम्रो सक्रियतामा कमि आएको छ । सक्रिय हुन रुचाउने मानबिय स्वभावमा अवरोध भएकोले पनि केही हदसम्म हामीमा तनाब बढेको हुनुपर्छ ।

नियमित रुपमा काम गर्ने र घरमै बस्ने व्यक्तिहरुलाई अहिले समय ब्यथित गर्न निकै गाह्रो पर्दै गएको छ। तपाईलाई पनि र्गाहो भईरहेको हुनसक्छ । उकुस मुकुस र छट्पटीको अनुभव पनि गर्नु भएको होला । फुर्सदको समयमा बढेको मानसिक तनाब धेर थेर हामी सबैले महसुस गरेकाछौ ।

कुनै पनि परिस्थितिमा व्यक्तिले कस्तो व्यवहार देखाउछ । दैनिकीलाई कसरी चलाउछ भन्ने कुरा स्वयं व्यक्तिको ज्ञान , सीप , अनुभव जस्ता कुरामा भर पर्छ । आपत–विपत तथा अफ्ट्यारो परिस्थिति आईपर्दा व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउछ कि त नकारात्मक व्यवहार गर्छ । नकारात्मक क्रियाकलापले त समस्या झन बढादै लान्छ ।

विपत्ति पर्दा वा संकट आइपर्दा तथा परिस्थिति बदलिदा त्यसले स्वत तनाब बढाउने गर्छ। नयाँ परिवेशमा समायोजन हुन् हामीलाई समय पनि लाग्न सक्छ ।

यस्तो विषम परिस्थिति सकसपुर्ण हुन्छ नै साथै यसले डर, त्रास , चिन्ता समेत बढाउछ । मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम पनि बढेर जान्छ।

अहिले हामी एक किसिमले स्वतन्त्र पनि भएकाछौ । यो समयलाई हामी आफुले चाहे अनुरुप बिताउन सक्छौ । आफ्नो रोजाई अनुसार चल्न सक्छौ ।

लकडाउन समयलाई ब्यक्तिहरुले कसरी उपयोग गरिरहेको छन त्यो व्यक्ति पिच्छे फरक फरक हुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्न जान्ने , सिर्जनशील व्यक्तिहरुले लकडाउनलाई एउटा अवसरको रुपमा लिईरहेका छन । उनिहरु आफ्नो कार्य वा सिर्जनामा रमाइ रहेका छन । यो उनीहरूको लागि आनन्ददायक , उपयोगी र उत्पादक समय भएकोछ । अहिलेको विषम परिस्थितिले पनि यस्ता ब्यक्तिहरुलाई मानसिक रुपमा त्यति धेरै असर पुर्याएको छैन।

सुर्जनशिल मानिसहरु जस्तो सुकै परिस्थितिमा पनि सक्रिय हुन सक्छन् । अबसरको खोजी गर्छन ।

लकडाउनलाई अवसर देख्ने सिर्जनशिल मानिसहरु कोहि आफ्नो रुचिको काम गरि रहेका छन् । कोहि परिवारसँग हाँसी खुशी समय बिताईरहेका छन् । आफ्नो परिबारिक सम्बन्धलाई मजबुत बनाईरहेका छन् । आत्मियता साटा साट गरिरहेका छन् । कतिपयले घरयासि काम काजमा सहयोग र्पुयाई रहेका छन् ।

सबैमा समय ब्यबस्थापनको ज्ञान, समयको मूल्य बोध र सिर्जनात्मक सीप हुन्छ नै भन्ने पनि हुँदैन ।

फुर्सदको समय सदुपयोग गर्न नसक्ने, सुर्जनशिला कार्यमा रुचि नहुने व्यक्तिहरुका लागि लकडाउन पट्यार लाग्दो नै भइरहेको हुनुपर्छ । खाने र सुत्ने देखि बाहेक अरु बिकल्प नदेख्नेहरुका लागि लकडाउन बोझिलो र सकसपुर्ण हुने नै भयो ।

समयको सदुपयोग गर्न नजान्ने मान्छेहरु फुर्सद हुने बितिकै छटपटाउन थाल्छन । समय कसरी काटने होला भनेर भयभित हुन पुग्छन । खाली समय आलस्य आलस्यमै सुतेर, अर्काको कुरा काटेर , झगडा गरेर, जुबातास खेलेर , जाँडरक्सी खाएर बिताउनु नै उनिहरुको नियति बन्नपुग्छ ।

यस्ता निरर्थक , उपलब्धिहीन र नकारात्मक तौर तरिकाले समय बिताउदा मानसिक तनाव झनै बढाउने नै भयो ।

समयलाई ब्यबस्थापन गर्न नजान्दा हुने मनोवैज्ञानिक कष्ट ज्यादै पीडादायिक हुने गर्छ । यसले छटपटि बढाउँछ, के गरौँ कसो गरौँ भन्ने कुराले सताइरहन्छ ।

एउटा उखान छ– ‘कुकुरको काम पनि हुँदैन, फुर्सद पनि हुँदैन ।’

फुर्सदको समयको सदुपयोग गर्न नजान्ने मान्छेहरु माथिको उखानले भने झै काम नहुदा (फुर्सदमा) पनि बेफुर्स्दिलो हुन्छ । अर्थात फुर्सदको सदुपयोग गर्न नजानेर तनावले भौतारिदै हिड्छन।

अर्को नेपाली उखान छ ( ‘खालीम दिमाग शैतानको बास’ । फुर्सदको समयमा दिमाग खालि हुँदा मनमा चाहिने नचाहिने कुराहरु खेल्न थाल्छन । अहिलेको अबस्थामा त खाली दिमागमा कोरोनाकै सोच बढि आउन सक्छ । जसले तनाब ,डर , चिन्ता झनै बढाउछ । तनावको बेलामा मान्छेले गर्न हुने ( नहुने काम गर्नसक्छ । आफ्नो सोच्ने , सम्झने, निर्णय लिने क्षमता गुमाउन सक्छ । कुलतमा फस्न सक्ने जोखिम पनि धेरै हुन्छ । झै–झगडा , मार पिट , महिला हिंसा , यौन हिंसा , घरेलु हिंसा हत्या सम्म गर्न सक्छ । त्यसैले खालि दिमागमा शैतानको बाँस हुन्छ भन्ने गरिन्छ ।

विश्व वैज्ञानिक युगमा प्रवेश गरिसकेको छ । मानिसले गर्ने शारीरिक तथा मानसिक कार्यहरूलाई रोवेट, कम्प्युटर जस्ता कुराले विस्थापित गर्दै गएकोछ। यदि यस्तो दिन आयो, मानिस धेरैनै फुर्स्दिलो भयो भने उसले आफ्नो समय कसरी बिताउँला ? मानसिक अबस्था कस्तो होला ? मानिसले कस्तो मानसिक तनाव बेहोर्नुपर्ला ? मनोविज्ञानको लागि यो चासोको विषय हुनसक्छ । यी प्रश्नको जवाफ भविष्यले नै देला, तर फुर्सदको समयलाई व्यवस्थापन गर्न नजान्दा हुने मानसिक तनाब पक्कै कष्टदायक हुनेछ ।

फुर्सदको समयले मानिसलाई तनाव दिन्छ । त्यो तनावलाई कमगर्न अथवा हटाउने उपाय भनेको समयको सदुपयोग गर्न जान्नु नै हो । सिर्जनशीलताले समयलाई उपयोग गर्न सिकाउँछ । त्यसकारण मानिसले सधैँ सिर्जनशील बन्ने कोसिस गर्नपर्छ । सिर्जनशीलताले प्रशस्त अबसर दिन्छ। सिर्जनशील व्यक्तिले फुर्स्दिलो भए भनेर कहिल्यै खालि बस्नु पर्दैन । साथै मानसिक तनावले छटपटाउनु पर्दैन ।

निष्कर्षमा, समयको सदुपयोग गर्न नजान्नेहरुलाई अहिलेको लकडाउनले थप मानसिक तनाव बढाएको अनुमान गर्न सकिन्छ ।

(लेखक मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्