संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेनन् : देउवा



चितवन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन्।

 

नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार आयोजित प्रेस युनियन मैयादेवी सूचना केन्द्र भवनको उद्घाटन,चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र  कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिए। कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले भने, ’प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन।’ 

 

उनले  कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘प्रेस युनियन स्वतन्त्र निकाय हो। तपाईंहरूलाई पार्टीबाट अंकुश लगाउने काम हुँदैन।' सभापति देउवाले रु ५५ लाखको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयादेवी सूचना केन्द्र’।कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए।

 

सो अवसरमा रु ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी रु ११ हजार १११ को क्रियाशील पत्रकारिता पुरस्कार ‘नारायणी अनलाइन’का राजु चौधरीलाई प्रदान गरियो ।

 

प्रतिक्रिया दिनुहोस्