काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरु समस्यामा



काठमाडौं: आर्थिक अवस्था कमजोर हुदा पनि जेनतेन खर्च जुटाएर उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरु समस्यामा परेका छन् ।

एक महिने लामो लकडाउनका कारण उनीहरु समस्यामा परेका हुन् । उच्च शिक्षा अध्ययन र सरकारी सेवामा प्रवेश गर्न चाहनेहरु लोकसेवा आयोगको परीक्षाको तयारीका लागि होस्टल र डेरामा बस्दै आएका छन् ।

समस्यामा पर्नेहरुमा अधिकांस सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका दलित, जनजाती र थारु समुदायका बढी छन् । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउने परिवारहरुलाई सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुले राहत उपलब्ध गराए पनि समस्यामा परेका यि विद्यार्थी भने राहत पाउनबाट बन्चित छन् ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी सबैभन्दा बढी समस्यामा परेको विद्यार्थीहरुल जानकारी गराएका छन् । एक्कासी लकडाउन हुँदा उनीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् ।
प्राप्त जानकारी अनुसार सुदूर तथा कर्णाली प्रदेशका मात्रै करिब २ सय विद्यार्थी समस्यामा परेका छन् । बाहिरी जिल्लाबाट आएर अध्ययन गरिरहेका विद्यार्थी खर्च सकिएर निकै सकसपूर्ण अवस्थामा दिन गुजारी रहेको बाजुरा घर भई बानेश्वर डेरा गरी बस्ने अमर सुनारले बताए ।

उनले भने, “केही दिनका लागि मात्र लकडाउन होला भन्ने लाग्यो, घरबाट पठाएको खर्च पनि सकियो, उधारो रासन दिने पसल पनि बन्द छ, डोटी घर भई हाल काठमाडौं शान्तिनगर डेरा गरी बस्ने सुनिल बागचनले बताए । उनले भने, ‘लकडाउन थपिए काठमाडौंमा भोकै मर्नु पर्ने अवस्था छ ।’

त्यस्तै, कैलाली घर भई अनामनगर डेरा गरी बस्ने शान्ति चौधरीले पनि लकडाउनले बाच्नै गारो भएको बताईन् । घरबाट पठाएको खर्चले हामी काठमाडौं पढ्न बसेकाहरुलाई निकै समस्या परेको उनले सुनाईन् ।

‘यस्तै हो भने रुममा ताला लगाएर घर फर्कनु पर्ने अवस्था छ’-चौधरीले अनलाईन कुराकानीमा भनिन् । उनका अनुसार कैलाली, कंचनपुर र बर्दियाका मात्रै ५० जना भन्दा बढी थारु समुदायका विधार्थी समस्यामा छन् । स्वदेश तथा प्रवासमा बस्ने नेपालीहरुले देशभरका विभिन्न ठाउँहरुमा राहत वितरण गरेका खबरहरु प्राप्त भएपनि विधार्थीहरुको समस्याप्रति भने कसैको ध्यान नपुगेको विधार्थी नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्