६ महिनामा १९ हजार ७ सय सवारी चालक कारबाहीमा



चितवन : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७ सय सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३ सय ८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९ सय ८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १ सय ७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३ सय ८ र सवारी चालक अनुमतिपत्र नभएका दुई हजार ७ सय २६ जना छन् । 

 

यस्तै सवारी साधनमा बत्तीको अवस्था ठीक नभएका १ सय ५३, अन्यमा छ हजार ६ सय ६९, तीव्रगतिमा सवारी चलाउने ३ सय ४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६ सय २८ सवारी चालकलाई कारवाही गरिएको छ । 

 

जिल्लाका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट एक करोड ४६ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्