बाजुराबाट हेलिकोप्टरमार्फत महिलाको उद्धार



बाजुरा : घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट उनको शनिबार बिहान काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि ल्याएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौं सिफारिस गरिएको थियो । आर्थिक समस्या भएका कारण तत्काल काठमाडौं लैजान नसकेको र आज नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा निमुखा जनताको हितका लागि दैलोमै हेटिकोप्टरबाट उपचारका लागि सहयोग गरेको भन्दै श्रीमान शेरबहादुर रावलले खुशी व्यक्त गरे ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा.रुपचन्द्र विश्वकर्माका अनुसार उनको मेरुदण्ड भाचिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्