कोरोनाको उच्च जोखिममा भुल्के, जनजीवन कष्टकर बन्दै



उदयपुर : भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ ।

त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ ।

गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए । उनले भने,“ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ । गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।”

स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे । उनले भने, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । ”

आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताए । उनले भने, “खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौँ । ”

गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरे । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ।”

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्