भिटिएम किट आएपछि थप ३ स्थानमा स्वाब संकलन



काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब संक्रलन हुने भएको छ ।

भिटिएम आएपछि संक्रमित फेला पर्न सक्ने सम्भावित बोदे बर्साइन, सुरुङ्गा र सप्तकोशी नगरपालिकामा पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन हुने भएको हो ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले ३२० भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी सप्तरी पठाएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । महाशाखाका फणीन्द्र ज्ञवालीले बोदे बर्साइन -५ जाँजर, सुरुङ्गा नगरपालिका-११ अरहा भजक्का र सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा केन्द्र स्थापना गरी स्वाब सङ्कलन गरिने बताए । स्वाब संकलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने जनाइएको छ ।

स्वाब संकलनमा खटिनुअघि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव र विश्व स्वास्थ्य सङ्गठनका किरण खड्काको उपस्थितिमा अस्पताल, स्वास्थ्य कार्यालय र पूर्व क्षेत्रीय प्रहरी अस्पताल, रुपनीका प्राविधिक स्वास्थ्यकर्मीले सुरक्षित साथ स्वाब सङ्कलनको प्रक्रियाबारे नमूना परीक्षण र अभ्यास गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा फेला परेका सङ्क्रमित सप्तरीको कञ्चनरूप नगरपालिका-२ बरमझिया, वडा नं १२ चर्खिया र सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको पत्ता लागेपछि सो क्षेत्रमा तीव्र रूपमा आरडिटी गरिए पनि स्वाब परीक्षण हुन सकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्