लकडाउनमा उपत्यकामा २०२ घटना



काठमाडौं: ‘लकडाउन’को अवधिमा उपत्यकाका ३ जिल्लामा २०२ घटना भएका छन् ।

साविक भन्दा यी घटना निकै कम हुन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

ललितपुरमा २८ र भक्तपुरमा ९ घटनाको उजुरी परेको छ । सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ । बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका पोखरेलले बताए ।

सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आ-आफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन् । “हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भने ।

सोका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ । उपत्यकाका १३८ युनिटबाट अहिले ३ जिल्लामा ९ हजार प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

लकडाउनमा दैनिक २ हजार मानिस कारवाहीमा पर्ने गरिएका जानकारी दिँदै उनले यो अवधिमा उल्लंघन गर्ने ७३ हजार बढीलाई कारवाही गरिएको बताए । लकडाउनका बेला अत्यावश्यक कामका लागि हिंडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिंडेकालाई अहिले सरकारी निर्णय अनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ ।

स्थानीय तहलेसमेत आ-आफ्नो क्षेत्रमा पेशा अपनाउन नसकेकालाई राहत दिने र खाना खुवाउने अभियानसमेत चलाएका छन् । यसमा विभिन्न सामाजिक संस्थाको समेत सहभागिता छ । कोभिड-१९ को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्