नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय कविता महोत्सव लागि कविता आह्वान



काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले वि.सं. २०२२ सालबाट राष्ट्रिय कविता महोत्सव निरन्तर गर्दै आएको छ । यस वर्ष पनि राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आह्वान गरेको छ । असार ९ गते प्रज्ञा प्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञा प्रतिष्ठानले कविता आह्वान गरेको हो ।

प्रज्ञा प्रतिष्ठानले जारी गरेको सूचना अनुसार इच्छुक कविहरूले समसामयिक विषयमा लेखिएका १ सय ५० शब्दसम्मका कविता जेठ २५ गतेभित्र बुझाई सक्नुपर्नेछ । कविताका साथमा कविले आफ्नो फोटो, पूरा ठेगाना, फोन वा मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ ।

कविता महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही कास्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ । कविहरूले आफ्नो कविता प्रीति फन्टमा टाइप गरी [email protected] मा इमेल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्