भारतमा सुदूरपश्चिमका १० जनाले कोरोनालाई जिते



काठमाडौं : भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक बालकको भने अस्पतालमा उपचार भइरहेको छ । अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङको चैनपुरी घर भइ भारतको बैंग्लोरमा काम गर्दै आएका अर्का परीवारका ३ जना सदस्यमा कोरोना पुष्टि भएकोमा १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चैनपुरका ४५ वर्षीय पुरुष र ३५ वर्षीया उनकी श्रीमती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने उनका छोराको अहिले उपचार भइरहेको बताइएको छ । अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवार पनि कोरोनालाई जितेर २५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको छ ।

खड्कासंगै उनका परिवारका आठै जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएको जानकारी सामाजिक संजाल फेसबुकबाट खड्काले दिएका छन् । उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा ८ जनामा संक्रमण देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म भारतमा कारोना संक्रमितको संख्या २४ हजार ५०६ पुगेको छ । जसमा ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने ५ हजार ४ सय ९८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्