सिकारीले घाइते बनाएका अजिंगरको उद्धार



भद्रपुर: सिकारीले घाइते बनाएका १२ फिटको अजिंगरको उद्धार गरिएको छ ।

जलथल वन क्षेत्रअन्तरगत बाह्रदशी गाउँपालिका १ सादुपर्ति सामुदायिक वनमा घाइते अवस्था भेटिएको अजिंगरलाई शनिबार बिहान उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

१२ फिट, अन्दाजी ४५ केजी तौल भएको कालो बुट्टे अजिंगरको टाउकोमा चोट लागेको अवस्थामा भेटिएको उनले बताए । स्थानीयले खबर गरेपछि वन कर्मचारीको टोली पुगेर अजिंगरको उद्धार गरेको हो ।

सिकारीले अजिंगरेको टाउकोमा भाला प्रहार गरेको देखिएको छ । घाइते अजिंगरलाई पशु सेवा अस्पताल भद्रपुरमा उपचार गराइएको र सुरक्षाका लागि डिभिजन वन कार्यालयमा राखिएको छ । उपचारपछि जलथल जंगलमा लगेर छाडिदिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्