के किमको उपचारको लागि चिनियाँ चिकित्सक टोली उत्तर कोरिया गएकै हो त ?



एजेन्सी : केही समयदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उत्तर कोरियाली शासक किम जोङ उन गम्भीर बिरामी भएको खबर छापिँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

तर उत्तर कोरियामा सञ्चार माध्यमको राम्रो पकड नभएको र भित्री कुरा बाहिरिने अवस्था नरहेकोले कुन समाचार सत्य र कुन झुट भन्नेमा अन्योलता नै छ ।

यसैबीच, उनको स्वास्थ्य परामर्शका लागि चीनले त्यसतर्फ एक चिकित्सक टोली पठाएको खबर रोयटर्सले लेखेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार त्यसतर्फ गएको हो।

तर सो कुराको पुष्टि भने हुन सकेको छैन। समाचारका अनुसार चिनियाँ विदेशमन्त्रीले यसबारे बोल्न इन्कार गरेका छन्।

पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन्। एक उत्तर कोरियाली अनलाईनका अनुसार उनी बिस्तारै निको हुन थालेका छन्। तर कतिपय अन्तरराष्ट्रिय सञ्चार माध्यमले भने उनी चिन्ताजनक अवस्थामा रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उनी सार्वजनिक रूपमा देखिने बताएका छन्। तर उनको स्वास्थ्य स्थिति र चिनियाँ संलग्नताका बारे भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्