बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २४ पुग्यो



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या २४ पुगेको छ । लण्डनस्थित नेपाली दूतावनसले आज (शनिबार) सम्म २४ जना नेपालीको कोरोनाकै कारण निधन भएको पुष्टि गरेको छ ।

बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । दूतावासको सूचीमा समावेश भएका २४ जनामध्ये अधिकांश भूतपूर्व गोर्खा सैनिक रहेका छन् । त्यस्तै गोर्खा वेल्फेयर ट्रस्टले पनि हिलेसम्म १८ जना भूतपूर्व गौर्खा सैनिकको कोरोनाका कारण निधन भएको पुष्टि गरेको छ ।

अहिलेसम्म मृत्यु हुने नेपालीमध्ये दुई जना महिला छन् । जुन ३२ र ३९ वर्षीया छन् । मृतकमध्ये ४० देखि ५० वर्ष उमेर समूहका तीन जना छन् भने ५० देखि ६० वर्षभित्रका चार जना छन् । त्यस्तै, तीन जना ७० वर्ष भित्रका छन् । अरु सबै ७० देखि ८६ वर्षसम्मका छन् ।

बेलायतमा सयौं नेपाली कोरोनाबाट संक्रमित भएको अनुमान गरिएको छ । तर, यतिन तथ्यांक उपलब्ध भएको छैन ।

एनआरएनए यूकेले संकलन गरेको तथ्यांकअनुसार शनिबारसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेबाहेक अरु ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जसमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने ११ जना अझै पनि उपचाररत छन् ।

कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बस्ने नेपाली पनि करिब १ सय ५० जना छन् ।

प्रतिक्रिया दिनुहोस्