बालबालिकालाई अरूसँग खेल्न दिने कि नदिने ?



एजेन्सी : के बालबालिकाहरू घरबाहिर गएर साथीहरूसँग खेल्न हुन्छ ? कि सामाजिक दूरीको अर्थ उनीहरूको खेल समयको अन्त्य हो ?

यदि क्याथरीन विल्सनले पछाडि फर्केर कुनै कुरा परिवर्तन गर्न सक्थिन् भने उनले छिमेकीको घरमा खाना खाने निम्तो अस्वीकार गर्थिन् ।

दुई साताअघि इटलीमा कोरोनाभाइरसको सङ्क्रमण फैलिइरहेको तर सरकारले घरभित्रै बस्न सुझाव नदिएको बेला रोममा बस्ने यी दुई बच्चाकी आमालाई छिमेकीको घरमा दुई अन्य परिवारसँग सानो जमघटको निमन्त्रणा आयो ।

‘मैले र मेरा श्रीमान्ले सोच्यौँ हामी कसैको घरमा त हो नि, ठूलो भिडमा जान लागेको होइन,’ उनले बीबीसीलाई बताइन्।
त्यो बेला इटालेली नागरिकसँग विवाह गरेकी अमेरिकी नागरिक विल्सनका बालबालिकाको विद्यालय बिदा भएको थियो ।
‘त्यो बेला लाग्यो यो त सानो बिदा जस्तो हो ।’

तर अहिले जब कोरोनाभाइरस फैलिरहेको छ । उनलाई लाग्छ उनले आफ्नो परिवारलाई त्यहाँ लग्नु उचित थिएन ।
केही दिनपछि इटलीको सरकारले घरबाहिर निस्कन प्रतिबन्ध लगायो जसको अर्थ थियो पार्क वा खेलस्थलमा पनि जान पाइँदैन ।

‘यो पूर्ण प्रतिबन्ध बरू ठीक छ । कुनै निर्णय गर्ने बेलामा बालबालिका र साथीहरूको चुनौतीका माझ के गर्ने के गर्ने भन्ने हुँदैन,’ उनले भनिन् ।

अभिभावकलाई तनाव

विश्वभरि अभिभावकहरूलाई विल्सनलाई जस्तै तनाव छ । नेपाल जस्तै धेरै देशहरूमा बालबालिकाहरूको बिदा छ र इटलीमा जस्तो सरकारले घरबाहिर निस्कनै प्रतिबन्ध लगाएको छैन । तर स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरीका कायम राख्न भनिरहेका छन् ।

साथीहरूसँग टेबलटेनिस खेल्न हुन्छ कि हुँदैन ? एकछिन चौरतिर जानु हुन्छ कि हुँदैन ? साथीको घरमा खेल्न जान हुन्छ कि हुँदैन ?

जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डा. केरी अल्टहफका अनुसार सामाजिक दूरीको अर्थ वयस्क र बालबालिका सबैजना कम्तीमा छ फीटको दूरीमा रहनु हो । यसको अर्थ बास्केटबल वा फुटबलजस्ता खेलहरू खेल्न हुँदैन । टेबलटेनिस र लुकामारीजस्ता खेलहरूमा दूरी रहन सक्ने भए पनि बालबालिकाहरूलाई दूरी बनाइराख्न लगाउनु असम्भव नै हुन्छ ।

‘खेलको बेला कसैले पनि दूरी राख्दैन, खेलस्थलमा दूरीको अर्थ हुँदैन,’ उनी भन्छिन् । र, भाइरसहरू सतहमा केही दिन बाँच्ने प्रमाणहरू भएका कारण खेलसामग्रीजस्ता धेरै छोइरहने खालका सतहहरूबाट टाढा रहनु नै उचित हुन्छ ।
बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमणले कमै वा कुनै लक्षण नदेखाउने र धेरै असर नगर्ने भए पनि उनीहरूले भाइरस सार्न सक्छन् ।

त्यसको अर्थ बालबालिकाहरू स्वस्थ देखिए पनि उनीहरूले समुदायमा अन्यलाई भाइरस सार्न सक्छन् । ‘अभिभावकहरूले पनि आफ्नो ख्याल राख्नुपर्ने बेला हो’ डा. केरी अल्टहफ भन्छिन् ।

स्थानीय सरकारहरू सामाजिक दूरीको अर्थ बुझाउन सक्रिय हुनुपर्ने डा. क्याथरिन सेम्राउ भन्छिन् । ‘हामी अहिले जे गर्छौँ त्यसले अबको दुई चार हप्तापछि हामी के गर्छौं भन्ने कुरालाई असर गर्छ’ उनले भनिन् । डा. सेम्राउका अनुसार सरकारले आवतजावतमै प्रतिबन्ध नलगाए पनि अहिलेको अवस्थामा मानिसहरूले सकेसम्म कम स्थानमा कम समयका लागि मात्रै निस्कनुपर्छ ।

डा. अल्टहफले भने आगामी दिनहरूमा अझ धेरै प्रतिबन्ध लाग्न सक्ने आशङ्का गर्दै अभिभावकहरूले बालबालिकालाई कसरी सम्हाल्ने भन्ने योजना बनाउनु जरुरी छ । उनीहरू दुवैजना सामाजिक दूरीको अर्थ असामाजिक हुनु नरहेको बताउँछन् र बाहिर निस्कन अथवा फोन र अनलाइनमार्फत् साथीभाइ र परिवारजनसँग सम्बन्ध राखिरहनुपर्ने बताउँछन् ।

सामाजिक दूरी राख्दै कसरी रमाउने?

खेलस्थलजस्ता स्थानमा नजानुहोस्, तर बाहिर निस्कनुहोस् र प्रकृतिमा आनन्द लिनुहोस् । हिँड्नुहोस् वा साइकल चलाउनुहोस् । इन्टरनेटमा साथीहरू र परिवारका अन्य सदस्यहरूसँग सम्पर्क राखिरहनुहोस् ।

बालबालिकालाई चित्रकलाजस्ता सिर्जनात्मक काम गर्न दिनुहोस्। बालबालिकालाई प्रोत्साहन गर्न विज्ञहरूले सुझाएका छन् ।
टोरन्टो विश्वविद्यालयकी एन्जेला पाइलका अनुसार बालबालिकालाई आफ्नो कल्पनाशीलता प्रयोग गरेर मनलाग्दो खेल्न दिनु महत्त्वपूर्ण हुन्छ ।

‘बालबालिकाहरू कल्पना गरिएका अवस्था र ठाउँमा खेलिरहेका हुन्छन् र त्यस्तो खेलका लागि उनीहरूका साथीहरूसँग स्काइपजस्ता माध्यमबाट खेल्न सक्छन्’

सामाजिक दूरी बनाउन आग्रह गरिएको आफ्नो शहरमा सात वर्षीया छोरीसँग खेल्न पाइनले विभिन्न प्रयोग गरेकी छन् । हामी घरमै खेल्छौँ, घुम्न बाहिर निस्कन्छौँ, साइकल चलाउँछौँ र अन्य त्यस्तै खेल खेल्छौँ जसका लागि खेलस्थलमा जानु पर्दैन र अरू मानिसहरूको सम्पर्कमा पनि आउनु पर्दैन । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्