राहत माग्न गएका पीडितमाथि मेयरले कुकुर छाडेपछि…



जनकपुरधाम : तपाईं एकपटक सोच्नुस त देशमा लकडाउन भएको बेला सबैभन्दा बढि असर कस्ता व्यक्ति र समुदायमाथि परेको होला ! पक्कैपनि तपाईंको दिमागले जवाफमा गरीब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको नाम दिन्छ । र सत्य पनि यहि नै हो ।

मजदुरहरु अहिले एकछाक खानाको लागि तड्पिरहेको यथार्थलाई नकार्न सकिन्न । दैनिक ज्यालादारीको काम लकडाउनका कारण बन्द भएपछि उनीहरु अहिले भोकभोकै बसिरहेका छन् ।

यस्तै कहानी छ, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने ५५ वर्षीय रामप्रित मल्लिकको । हुनत उनी साबिकमा वडा नम्बर-६ मा बस्थे तर अहिले सम्पूर्ण परिवार वडा नम्बर–४ मा बस्न थालेका छन् ।

लकडाउन भएको एक महिनाभन्दा बढि भईसक्यो अब त खाना बिना सबैजना मर्छु कि भन्ने डर छ, ‘उनले भने-कोरोनासँग कुनै डर छैन् तर भोकै सबैजना मर्छु कि भन्ने डरले दिनरात सताइरहन्छ ।’

उनले भने, ‘राहत बाँडिएपनि हामीलाई अहिलेसम्म कसैले केहि दिएनन् । दश दिनअघि राहत माग्न म लगायत हाम्रो टोलका १०–१५ जना महिलाहरु मेयर साहेबको घरमा गएका थियौं, उनले हामीलाई राहत त के दिनु आफ्नो दुईटा कुकुरलाई गेटमै हामीमाथि छाडेका थिए । उनको कुकुरको हुल झुम्मिएर स्त्री, पुरुष सबैमाथि ङारङार र ङुरङुर गर्दै आक्रमण गर्न झम्टे । पछि हामी जसोतसो आफ्नो ज्यान बचाएर त्यहाँबाट भाग्यौं ।’

रामप्रितले पछिल्ला दिनको सम्झना गर्दै भने–स्थानीय तहको निर्वाचनका बेला आफु महोत्तरीको गौशालाबाट साइकल चलाएर जनकपुर पुगी उनलाई भोट दिएको थिएँ तर अहिले आफु पीडामा हुँदा राहत माग्न गएपछि आफुमाथि कुकुरको हुल नै छोडियो । उनको गेटमा बसेकाहरुले पनि हामीलाई उनीसँग भेट नै गर्न नदिई हप्काएर त्यहाँबाट भगाइदिए ।

चुनावका बेला आफ्नो घरको मुलढोकासम्म भोट माग्न आएका नेताहरु अहिले उल्टै आफुहरुलाई चिन्न छाडेका छन् । यो भन्दा ठूलो बिडम्बना के नै हुनसक्छ र ? उनको प्रश्न थियो ।

वडा नम्बर–६ का अध्यक्ष जगरनाथ साहलाई पनि भोट दिएँ तर उनी पनि सबैथोक बिर्सेका छन् । रामप्रितले भने, ‘राहत दिन्छु भनेर वडाध्यक्ष साहले १५ दिनअघि नै आफुहरुको नाम लेखेर गए तर राहत लिएर अहिलेसम्म आएका छैनन् ।’

रामप्रित त एउटा उदाहरण पात्र मात्रै हुन् उनीजस्ता हजारौं मजदुरहरु अहिले लकडाउनका कारण काम बन्द भएपछि खाना बिना तडपिरहेका छन् । तर सरकार भने लकडाउनको एक महिना भन्दा बढि समय बितिसकेपनि चिर निद्रामै छ ।

नेपालको संविधानले विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति,कानुन,मापदण्ड निर्माण,स्थानीय स्तरमा विपद् पूर्वतयारी खोज तथा उद्धार,राहत सामग्रीको पुर्ण भण्डारण र वितरणमा समन्वय, विपद् जोखिम क्षेत्रको नक्सांकन,वस्तीहरुको पहिचान र स्थान्तरणलगायतका कामहरु स्थानीय तहबाट हुने उल्लेख गरेको पाईन्छ । तर त्यसको कार्यान्वयन भने ठिक उल्टो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्