नारायणी अस्पतालमा रहेका चारजना कोरोना संक्रमण मुक्त



वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चार कोरोना संक्रमितको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय नागरिक र एकजना नेपाली युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो । योसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

२४ घण्टाको फरकमा गरिएका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज (आइतबार) डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।

२४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जमा उपचाररत पाँचजनाको कोरोना संक्रमित पाँच जनामध्ये चारजनाको रिपोर्ट नेगेटिभ आएको हो ।

‘२४ घण्टाको फरकमा दुईपटक गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अब उहाँहरु कोरोना संक्रमणबाट मुक्त हुनुभयो । अब उहाँहरुलाई अस्पतालले डिस्चार्ज गर्छ,’ उनले भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायका अनुसार वैशाख १० गते कोरोनाको पुष्टि भएका सर्लाहीका १४ वर्षीय बालकको रिपोर्ट भने पोजेटिभ नै आएको छ ।

प्रतिक्रिया दिनुहोस्