बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना पुष्टि



काठमाडौं : बर्दियाबाट भारत फर्किएका दुई मजदुरमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार क्रसर उद्योगमा काम गर्ने दुई भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कोठियाघाट क्षेत्र सिल गरेर उच्च सतर्कता बढाइएको छ ।

ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको भारतीय प्रहरीले जनाएको छ ।

भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएका थिए ।

कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने बताउँछन् ।

क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताए । उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्