काठमाडौँमा अलपत्र दैलेखीको उद्धार



काठमाडौँ : बन्दाबन्दीबाट काठमाडौँमा अलपत्र करीब छ सय दैलेखीलाई उद्धार गरिएको छ । काठमाडौँमा अध्ययन गर्ने विद्यार्थी, उपचारका लागि गएका नागरिक र अन्य कामका सिलसिलामा गएका ११ वटै पालिकाका नागरिकको उद्धार भइरहेको नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नेकपा दैलेखका पार्टी अध्यक्ष एवं सङ्घीय सांसद रवीन्द्र शर्माका अनुसार कोठाभाडामा बसेका विद्यार्थीलाई खाना समस्या र मजदूरको गुनासो पनि तीव्र भएपछि नेकपाका नेता, प्रदेशसभा सदस्य, सङ्घीय सांसद र दैलेखी सेवा समाज काठमाडौंँको पहलमा उद्धार शुरु गरिएको हो ।

दैलेखका ११ वटै स्थानीय तहका मानिस काठमाडौँमा अलपत्र भएपछि यसको उद्धारका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको थियो । सोही आधारमा उद्धार गर्दा लागेको खर्च सम्बन्धित स्थानीय तहले तिर्ने सहमतिअनुसार गाडीमा ६ सयभन्दा बढी नागरिक शनिबारसम्म यहाँ ल्याइएको छ ।

गुराँस गाउँपालिकाले देशभरि अलपत्र १६० नागरिकलाई उद्धार गरिएको जनाएको छ । काठमाडौँँका ३८, पर्वतमा ज्यालादारी काम गर्दै आएका १४, सुर्खेतमा अलपत्र परेका ४३ र अन्य विभिन्न स्थानमा रहेका १६० जनालाई ल्याइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

दुल्लु नगरपालिकामा एक सय जना विभिन्न स्थानबाट आइसकेको बताइएको छ । ठाँटीकाँध गाउँपालिकामा ७० जना उद्धार गरेर ल्याइएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । पालिकामा ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

दैलेखी समाजले लकडाउन अवधिभरि विभिन्न काममा आएर समस्यामा परेकालाई स्वास्थ्य सामग्रीलगायत राहत वितरण गदै आइरहेको अध्यक्ष प्रताप शाहीले बताए ।

नारायण नगरपालिकाका ७३ जनालाई दुई बस भरेर सङ्घीय सांसद पार्वती बिशुन्केलगायतले जिल्ला पठाए । सवारी साधनको भाडा बैठक बसेर निर्णय गरिने नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।

काठमाडौँमा रहेको दैलेखका नागरिकको उद्धारमा भैरवीका लागि नेकपाका केन्द्रीय सदस्य रिजाल, गुराँसका लागि टोपबहादुर बिसी, भगवतीमाई तथा डुंगेश्वरका लागि धर्मराज रेग्मी र हिक्मत थापा खटिएका थिए । यस्तै नारायणका लागि विशुन्के, महाबुका लागि रवीन्द्रराज शर्मा र नन्द विष्ट, नौमूलेका लागि नरबहादुर हमाल र प्रताप शाही, दुल्लुका लागि विनोदकुमार शाह, चामुण्डाका लागि शेरबहादुर रावत, ठाँटिकाँध तथा आठबीसका लागि सुस्मिता सिंह, राजबहादुर बुढा, तर्कबहादुर शाही उद्धार टोलीमा रहेका थिए ।

नेकपाका युवा नेता रिजालले सङ्कटका अवस्थामा राजधानीमा पढ्न गएका विद्यार्थी र अन्य कामको सिलसिलामा गएका मानिसलाई आफ्नै जिल्लामा पठाउन पाइएकामा सन्तोष व्यक्त गर्दै अन्यलाई पनि त्यस्तो सहयोगका लागि आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्