लकडाउनको बेला कब्जियत त भएको छैन ?



गोपाल ढकाल
पचास वर्षिय एक पुरुषलाई लकडाउन पछि पाँच सात दिन देखि दैनिक दिसा नलाग्ने , दिशा भए पनि थोरै हुने, पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने,पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने ,असपट हुने, शरीर चंगा र छरितो नहुने,पेट कराउने, जस्ता कब्जियतका लक्षणहरु देखिए । कोरोनाको त्रासले आफु भयभित बैचेनी र तनाबमा रहेको समेत बताउदै मनोपरामर्शका लागि मनोविद्लाई फोन गरे । साथै आफुलाई पहिला देखिनै डर चिन्ताको मानसिक समस्या भएको जानकारी समेत गरए ।

लकडाउनको समयमा तपाईलाई पनि यस्तै कब्जियत वा पेटसँगका अन्य समस्याहरु त देखिएका छैनन ?

कब्जियत तथा पेटसँग सम्बन्धित अन्य समस्याहरु तनाव र चिन्ताको कारणले समेत हुनेगर्दछ।

कोरोनाको प्रकोप तथा लकडाउनले स्वभाविक रुपले मानिसहरुमा मानसिक तनाव, डर , त्रास , चिन्ता बढाएको छ ।

तनावले पाचन थैलीबाट निस्कने ग्याष्टिक एसिडसहित विभिन्न हर्मोन र रासायनिक पदार्थको उत्पादनमा प्रत्यक्ष प्रभाव पर्छ। मानसिक तनाव हुँदा शरीरबाट बिभिन्न खालका स्टेस हर्मनहरु निस्कन्छन् ।
तनावले कव्जियत हुनुका साथै पेटमा ग्याँस उत्पन्न भइ ग्याष्टिकको समस्या समेत देखिन्छ सक्छ ।

तनावले पाचन प्रणालीमा असर पुर्याउछ। जसको कारण पेट दुख्ने , कब्जियत हुने , पखला लाग्ने , वान्ता हुने वा पेटमा गडबडी हुने जस्ता समस्याहरु देखिन सक्छन् ।
कब्जियत हुनुको अर्को कारण जीवन शैली खानपना पनि हो ।

कोरोनाको संक्रमणको कारण लकडाउन गरिएको अहिले अबस्थामा हाम्रो जिवन शैलीमा परिवर्तन आएको छ । केही असन्तुलित समेत हुनपुगेकोछ। असन्तुलित खानपान र जीवन शैली हुँदा लकडाउनको समयमा धेरैमा कब्जियतको समस्या देखिएको हुनसक्छ ।

लकडाउनले शारीरिक रुपमा हामी निष्क्रिय जस्तै भएकाछौ। चौबीसै घण्टा हामी घर भित्रै बस्न बाध्यछौ । लामो समयसम्म घरमा बसिरहँदा , शरीर चलायमान नहुदा वा शारीरिक श्रम नहुदा खानेकुरा सहजै पच्दैन । जसले गर्दा कब्जियत वा पेटका समस्याहरु बढेर जान्छ ।

लकडाउनमा कब्जियत हुनबाट जोगिन कस्तो हुनुपर्छ दैनिकी ?

शरिरलाई सक्रिय वा ब्यस्त राख्ने तथा मनलाई शान्त र आनन्दित बनाउने दैनिक किर्याकलाप हुनुपर्छ ।

–आफ्नो दैनिकीलाई नियमित र संतुलित बनाउनु पर्छ । काम गर्ने , खाने, सुत्ने समय निश्चित हुनु पर्छ । शैचालय जाने समय पनि निश्चित र नियमित बनाउनु पर्छ।

–शारीरिक ब्यायम गर्नु अहिलेको समयमा अति जरुरी हुन्छ । योगाभ्यास वा शारीरिक ब्यायमले तनाब कम हुन्छ । साथै शरिरको पाचनशक्ति समेत बढाउन मद्दत गर्छ ।

–तनाबको समयमा प्रशस्त आरामको जरुरत पर्छ । दैनिक कम्तीमा ७( ८ घण्टा सुत्नु जरुरी हुन्छ। सुत्ने समय भने निश्चित हुनुपर्दछ ।
फुर्सद छ भनेर धेरै समयसम्म सुतिरहनाले पनि पाचन प्रणालीमा असर पुुग्छ।

–राति अबेलासम्म टेलिभिजन हेरेर बस्ने , मोबाइल तथा ल्यापटपको बढि प्रयोग गर्ने जस्ता ब्यबहारले पाचन प्रणालीमा असर र्पुयाउने गर्छ। यसको प्रयोगलाई सिमित गर्नुपर्छ ।

–मनलाई शान्त राख्न ध्यान , श्वासप्रस्बासको अभ्यास ,आरमदायिक अभ्यास गर्नु पर्दछ । जसले तनाव ब्यबस्थापनमा सहयोग पुग्छ।

लकडाउनको समयमा कस्ता खानेकुराहरु खाने ?
लकडाउनको कारणले हाम्रो खानपान नमिलिरहेको पनि हुनसक्छ । जसले गर्दा कब्जियत भएको हुनसक्छ । त्यसैले यी कुराहरुमा ख्याल गर्नुपर्छ।

–पचाउन सजिलो हुने प्रकृतिक खाद्यान्नहरु जस्तो रेसादार खानेकुरा , हरियो सागपात, सब्जी ,सलाद,फलफुल ,गेडागुडी, टुसा उम्रेका अन्न,काँक्रा, गाजर, मूला जस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
–प्रशस्त मात्रामा पानी, दही, मही , जुस, सुप वा झोलियो खानेकुरा खानुपर्छ ।

–अमिलो–पिरो, फस्टफुड र ड्राईफुड, धेरै चिल्लो ,तारेको, भुटेको , माछा,मासु, अण्डाजस्ता मांसाहार नखाके वा कम खाने। कोल्ड ड्रिंक र फास्टफूड सेवन गर्नु हुदैन । यसले पाचन प्रक्रियालाई असर गर्छ ।

– तनाबको बेला कि खानै मन लाग्दैन कि अरुबेला भन्दा धेरै खान पुगिन्छ । लकडाउनमा परिवारसँगै हुने, फुर्स्दिलो भएका कारण खाने मात्र काम हुनसक्छ । जसले गर्दा खाएको खाना पच्न पाउदैन र कब्जियत हुनसक्छ । त्यसैले दिनमा ४-५ पटक गरेर थेरै थेरै खानु उपयुक्त हुन्छ ।

– चिया, कफि पनि धेरै खानु हुदैन। धूमपान तथा मद्यपान त गर्नैहुदैन । तर तनाबको बेला यसको सेबन बढने जोखिम पनि हुन्छ । यसमा सचेत रहनु पर्छ ।

–दैनिक जीवन शैलि र खानपानमा ध्यान पुर्याउदा पनि कब्जियत वा पेट सम्बन्धि समस्याहरु कम नभएमा घरेलु उपाय अपनाउन सकिन्छ । जस्तो त्रिफला चूर्ण जस्ता आयुर्वे्दिक औषधीको सेबन गर्न सकिन्छ । तर लामो समयसम्म कब्जियतको समस्या रहिरहेमा भने सम्बन्धि बिशेषज्ञलाई देखाउनुपर्छ ।

एन्जाईटी वा चिन्ताका जन्य मानसिक रोगहरु , डिप्रेसन जस्ता मानसिक समस्याको कारणले पनि कब्जियत वा पेट सम्बन्धि समस्या देखिन सक्छ । मानसिक रोगका कारणले यस्तो भएको हो भने मनोरोग बिशेषज्ञलाई देखाउनु पर्छ । मानसिक रोगको कारण पेटको समस्या आउदा जति सुकै ग्याष्टिक वा पेटको औषधी उपचार गरेपनि रोग निको हुन र्गाहो हुन्छ।

हास्य कलाकार केदार घिमिरेलाई समेत एक पटक असाध्यै पेट दुख्ने समस्याले सताएको थियो । पेटको जति नै औषधि खाएपनि पेट दुख्न छोडेन । पछि उनलाई डिप्रेसन भएको थाहा भयो । मानसिक रोगको उपचार पछि उनको पेट दुख्ने समस्या समेत ठिक भएर गयो ।

( लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)

प्रतिक्रिया दिनुहोस्