अविरल वर्षाका कारण दुई दर्जन बढी घर जोखिममा



तनहुँ : तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पु¥याउँदा जोखिममा परेका हुन् ।

व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पु¥याउँदा पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका छन् । बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षति पुगेको छ । बिहीबार र शुक्रबार रातभर परेको अविरल वर्षाका कारण यस क्षेत्रका बासिन्दाको घर खतरामा परेकाले अन्य क्षेत्रमा पनि पु¥यराएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

पहिराले बन्दै गरेको घरमा समेत क्षति पु¥याएको व्यास नगरपालिका–१ निवासी घरधनी धु्रव बस्नेतले जानकारी दिए । बस्ती नजिकै जग्गा प्लाटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घरमा क्षति पु¥याएको उनले बताए । पहिरोपीडित बासिन्दाले जथाभावी प्लाटिङ गर्ने कार्य तत्काल रोक्नका लागि स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नपर्ने उनीहरुले माग राख्दै आएका छन् ।

त्यसैगरी पहिरोले व्यास नगरपालिका–३ दुर्गा मन्दिर लाइनका पनि क्षति पुगेको छ । बस्तीमुनि गएको पहिरोले एक दर्जन बढी घर सङ्कटमा परेको वडा नं ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रेमकुमार श्रेष्ठ, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायत घर खतरामा परेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नजिकैको पछाडिपट्टि पर्ने ती घरको भतेरीपट्टिको भागमा करिब ५० मिटर लामो पहिरो गएपछि ती घर सङ्कटमा परेका हुन् । मूल पलाउने र माटो बग्ने गरिरहेकाले पक्की घर नै बगाउने हो कि भन्ने चिन्ताले सताएर टोलवासी आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताए ।

सिर्जना टोल विकास संस्था र वडा नं ३ को पहलमा रेडक्रस र व्यास नगरपालिकाबाट त्रिपाल र पाइप मागी माथिबाट झरेको पानी रोक्ने र माटो बग्न नदिने प्रयास गरिएको सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा ती घर खतरामा रहँदै आएका थिए । केही घरको पछाडि ग्याबियन र जाली लगाउने काम भए पनि कतिपय घरको पछाडि काम नहुँदा अहिले पहिरो खसेको हो ।

चट्याङले एफएममा क्षति

यसबीच शुक्रबार साँझ परेको चट्याङले तनहुँको डुम्रे बजारमा सञ्चालित रेडियो बन्दीपुरलाई क्षति पुगेको छ । बन्दीपुर गाउँपलिका–४ बन्दीपुरस्थित रेडियोको टावरमा चट्याङ पर्दा टान्समिटर, युपीएस, ब्याट्रीलगायत क्षति भएको छ । चट्याङबाट करिब रु १५ लाख बराबरको नोक्सान भएको रेडियोका प्रबन्ध निर्देशक विजयकुमार कार्कीले जानकारी दिए ।

असिनाले बर्खे फलफूलमा क्षति

त्यसैगरी केही दिन जिल्लाको ऋषिङ गाउँपालिकामा अहिलेसम्मको ठूलो असिना पर्दा बर्खे फलफूलमा क्षति पुगेको छ । खेती लगाउने समय हुँदै गरेकाले अन्य क्षति हुन नपाएको ऋषिङ गाउँपालिका कार्यालयले जनाएको छ । असिनाका कारण पलाउँदै गरेको डालेघाँस र बर्खे तरकारी आरु, नास्पति, निबुवा, कागती, रुखकटहरलगायत फलफूलमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । गाउँपालिकाभित्र फलफूल तरकारीमा पुगेको क्षतिको तथ्याङ्क लिने काम भइरहेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्