गणित र षड्यन्त्रको कुरा गर्दै ओलीको बचाउमा जुटे सल्लाहकार र पूर्वमन्त्री बाँस्कोटा



काठमाडौं : नेकपाभित्र विवाद झाङ्गिदै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले ओलीको बचाउन गर्न थालेका छन् ।

एकलैटी अध्यादेश ल्याएपछि विवादमा मुछिएका प्रधानमन्त्री ओलीको प्रतिक्षामा प्रेस सल्लाहकारदेखि पूर्व सञ्चारमन्त्री लागि परेका छन् ।

ओलीको प्रतिरक्षामा रहेका नेता रणनीति निर्माण जुटेका छन् भने केही नेता र सल्लाहकार सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।

यता उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्थानीय कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रणनीति निर्माणएमा जुटेका छन् । उनीहरुले ओली समूहसँग मात्र नभएर असन्तुष्ट नेताहरुसँग पनि लगातार संवाद गरिरहेका छन् ।

हिजो (शनिबार) राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छुट्टाछुट्टै भेटमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने बताएपछि ओली निकट नेताहरु ओली बचाउनका लागि सक्रियतापूर्वक लागेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले त सामाजिक सञ्जाल फेसबुमा स्टाट्स नै लेखेर ओलीको बचाउ गरेका छन् । उनले कोरोनाको संकटविरुद्ध जुधिरहेको सरकारलाई घेराबन्दी गरिएको दाबी नै गरेका छन् । योसँगै के प्रष्ट हुन्छ भने नेकपाभित्र ठूलै तनाव भएको संकेत आएको छ । साथै प्रधानमन्त्रीका सहयोगीहरुको प्रतिरक्षाको रणनीति पनि उजागर भएको छ ।

नेकपाको नाममा स्थिरताविरुद्ध चलखेल भएको दाबी गर्दै ओलीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्–‘हङ पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नांगो भागबन्डाले त हङ पार्टी पो भएछ ! जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध जारी चलखेल, नेकपाको नाममा’

यता प्रधानमन्त्री ओली अर्का विश्वासपात्र मानिने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि ओलीको बचाउमा उत्रिएका छन् । उनले पार्टीभित्र बहुमतको अंकगणितको कुनै सान्लर्भिकता नरहेको भन्दै ओलीको प्रतिरक्षामा उत्रिएका हुन् । बाँस्कोटाले गणितले राजनीतिको होइन्, राजनीतिले गणितको फैसला गर्छ भनेका छन् ।

७० करोड घुस अडियो प्रकरण विवादमा तानिएपछि नेता बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्–‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ । तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन् ।’

नेकपामा बहुमत स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेको तथा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा मागेकै भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकार र ओली निकट नेता बाँस्कोटाको यस्तो टिप्पणी आउनुले नेकपाभित्र गहिरिँदो शक्ति संघर्षलाई उजागर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्