स्थानीय उत्पादनको बजारीकरण नहुँदा भारतबाट हरियो तरकारी र फलफूलको आयात उच्च



भैरहवा : लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ।

गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा ६२ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ८९ लाख २३ रुपैयाँ बराबरको आयात भएको थियो।

लकडाउनको ३१ दिनको अवधिमा २५ लाख ९९ हजार रुपैयाँको २४२ मेट्रिकटन मात्रै हरियो सागसब्जी भारतबाट आयात भएको छ। गत वर्षको यही अवधिमा आयात भएको भन्दा ३१ टन बढी हो। गत आव २०७५÷७६ को चैत ११ देखि वैशाख ११ सम्मको अवधिमा २२ लाख ७७ हजार रुपैयाँ मूल्यको २११ मेट्रिकटन हरियो सागसब्जी भारतबाट आयात भएको थियो।

प्याजको आयात पनि लकडाउनको अवधिमा बढी भएको छ। गत आव २०७५र७६ को चैत ११ देखि वैशाख ११ सम्ममा पाँच लाख १८ हजार रुपैयाँ मूल्य बराबरको चार मेट्रिकटन प्याज आयात भएको थियो। चालू आवको चैत ११ देखि वैशाख ११ सम्म २१ करोड ३४ लाख ७९ हजार रुपैयाँ बराबरको पाँच हजार ८०५ मेट्रिकटन आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। जुन गत वर्षभन्दा पाँच हजार ८०१ मेट्रिकटन बढी हो।

लकडाउनमा गोलभेडाको आयात पनि बढी भएको देखिएको छ। गत आवको चैत ११ देखि वैशाख ११ सम्म एक करोड ६८ लाख सात हजार रुपैयाँ मूल्य बराबरको एक हजार ५६० मेट्रिकटन आयात भएकामा चालू आर्थिक वर्षको चैत ११ देखि वैशाख ११ सम्म दुई करोड ४० लाख छ हजार रुपैयाँ मूल्य बराबरको दुई हजार २६८ मेट्रिकटन आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए। यो गत आवभन्दा ७०८ मेट्रिकटन बढी हो।

‘स्थानीय तरकारी तथा फलफूलको बजारीकरण नभएकाले भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको हो,’ उनले भने।

आलु गत आवको चैत ११ देखि वैशाख ११ सम्म १० करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको चार हजार ८५२ मेट्रिकटन आयात भएको थियो भने चालू आवको चैत ११ देखि वैशाख ११ सम्म १२ करोड ६३ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका पाँच हजार ६३ मेट्रिकटन आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले बताए। यो गत वर्षभन्दा १७१ मेट्रिकटन बढी आयात भएको कार्यालयले जनाएको छ।

लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट चना, काँचो नरिवल, काँचो केरा, आँप, सुन्तला, अङ्गुर, कागती, तरबुजा, मेवा, स्याउ, अनार, कटहर गत वर्षभन्दा भारतबाट अत्यधिक बढी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्