मठमन्दिरमा आक्रमण गर्नेविरुद्ध कारबाहीको माग



वीरगन्ज : सप्तरीको विभिन्न मठमन्दिरमा भएको आक्रमणको विश्व हिन्दु परिषद् नेपालले कडा निन्दा गरेको छ ।

परिषद् नेपाल पर्साले आइतबार सरकारले लागू गरेको लकडाउनको पूर्ण पालनासहित वीरगन्जमा प्रदर्शन गर्दै मठ मन्दिरमा आक्रमण गर्ने असामाजिक तत्वलाई पक्राउ गरी तत्काल कारवाहीको माग गरेका हो ।

समाजिक दुरीलाई कायम गर्दै परिषद् पर्साका महामन्त्री रणविर कुशवाहाको नेतृत्वमा रहेका परिषद्का सदस्यहरुले हातमा प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाउँदै मठमन्दिरमाथि आक्रमण गर्ने असमाजिक तत्वलाई पक्राउ गरी कारवाही गर्न जोडदार माग गरेका हुन् ।

उनीहरुले नेपाल प्रवेश गरेको अन्य मुलुकका इस्लामिक आतंकवादीहरुविरुद्ध कारवाही गर, मन्दिर तोडफोडको छानविन गर, दोषीलाई तत्काल पक्राउ गरी हदैसम्म कानुनी कारवाही गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर सांस्केतिक रुपमा विरोध जनाएका हुन् ।

‘घटनाबारे प्रधानमन्त्री, मन्त्री परिषद् कार्यालय, तीन वटै सुरक्षाप्रमुखको कार्यालयमा मेलमार्फत ज्ञापन पत्र समेत बुझाएका छौ,’ उनले भने, ‘हाम्रा धर्ममाथि आक्रमण गर्नेलाई सरकारले कारवाही नगरे लकडाउन पछि चरणबद्ध आन्दोलनमा उत्रिने छौ ।’

सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ३ र महुवास्थित डगरीन स्थान वडा नम्बर ४ बेलहीको हनुमान मंदिर, शिव मंदिर र सुरुंगा नगरपालिका वडा नम्बर १० मा रहेको श्री रामजानकी मन्दिरमा अज्ञात समूहले तोडफोड तथा आगजनी गरेका थिए ।

सोही घटनाको विरोधमा परिषद्ले घटनाको आलोचना गरी विरोध जनाउँदै दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्