तीन सय हुम्लीको उद्धार



सिमकोट : नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ ।

कर्णाली प्रदेश सरकारले बाँके र सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिनुभयो । आइतबार राति सुर्खेत र बाँकेबाट सर्केगाड –१ देखि ८ सम्मका नागरिकको उद्धार गरिएको छ ।

बाँकी रहेका अन्यको आज पनि उद्धार गरिने जनाइएको छ । उद्धार गरिएका नागरिकले प्रदेश सरकारसँग १४ दिन क्वारेन्टाइनमा बस्ने सहमति गरेका छन् । जिल्लाका अन्य बाँकी ६ गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकको उद्धारमा चासो नदिँदा र जिल्ला बाहिर कति छन् भन्ने तथ्याङ्क प्रदेश सरकारलाई नदिँदा उद्धार गर्न नसकिएको सामाजिक विकास मन्त्रालय स्रोतले बताएको छ ।

अन्यको बिचल्ली

काम र अध्ययनका सिलसिलामा बाँके र सुर्खेतमा रहेका हुम्लीले घर जान पाऊँ भन्दै सबैलाई समस्या दर्शाउँदै आएका छन् । नेपालगञ्ज विमानस्थल नजीकै आसपास क्षेत्रका होटेलमा महिना दिनसम्म बसेका हुम्लीहरु लकडाउन खुल्ने छाँट नदेखेपछि प्रदेश र स्थानीय सरकारलाई हुम्ला पु¥याइदिन हारगुहार गर्न थालेका छन् । “चुनाव आउँदा मात्रै हामी जनता चाहिने रहेछौँ, आपत्विपत्का बेला महिनौँ दिनसम्म कसैले चासो दिएन”, सिमकोट –२ का रामबहादुर बोहराले गुनासो गर्नुभयो ।

होटेलमा प्रतिदिन रु आठनौ सय खर्च भएको तथा घर फर्कने गाडी र जहाज भाडासमेत नभएको महेन्द्र बोहराले बताउनुभयो । बाँके र सुर्खेत आइपुगेका छ सयदेखि सात सय हुम्ली लकडाउनमा फसेको अनुमान छ ।

कर्णाली प्रदेशका कालीकोट, सल्यान, जाजरकोट, कालीकोट, जुम्लालगायत जिल्लाका स्थानीय तहले आआफ्ना नागरिक उद्धार गरे पनि हुम्लाका ६ वटै स्थानीय तहले यस विषयमा कुनै चासो नदिँदा उनीहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । गत बिहीबार प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले उद्धार गर्ने निर्णय गरे पनि हालसम्म कुनै टुङ्गो लागेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्