एक सातामा अढाई लाखले छाडे उपत्यका



काठमाडौं : मन्त्री, सांसद र स्थानीय तहहरूले नै आफ्नो क्षेत्रका नागरिकलाई घर फर्काउन पहल गर्न थालेपछि काठमाडौं छाड्नेहरूको क्रम बढेको छ । पछिल्लो एक सातामा करिब अढाई लाख मानिस काठमाडौंबाट बाहिरिएको प्रहरीको अनुमान छ । 

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको सोमबार ३५ दिन पुगेको छ, २५ वैशाखसम्म थप गर्ने निर्णय पनि गरिसकेको छ । लकडाउन लम्बिँदै गएपछि उपत्यकामा डेरा गरी बस्ने मजदुर, विद्यार्थी र साना व्यवसायीहरू धमाधम जिल्ला फर्किन थालेका छन् । सम्बन्धित क्षेत्रका मन्त्री, सांसद र स्थानीय तहहरूले गाडी व्यवस्था गरेर उनीहरूलाई गाउँ फर्काइरहेका छन् । लकडाउनको सुरुवातमा कडाइ गरेको प्रहरीले पनि पछिल्ला दिनहरूमा भने लचकता अपनाएको छ ।

सरकारले लकडाउनका वेला जो जहाँ छ, त्यही बस्न आग्रह गर्दै भोकै पर्नेहरूलाई स्थानीय तहमार्फत राहत दिने निर्णय गरेको थियो । तर, लकडाउन लम्बिएपछि चैत तेस्रो साता घर जानेहरूको लर्को सुरु भयो । त्यतिखेर प्रशासनले गाडी गुड्न होइन, पैदल हिँड्नसमेत रोक लगायो । मजदुरी गर्न पूर्व पुगेकाहरू प्रहरीको आँखा छल्दै रातारात हिँडेरै सुदूरपश्चिमसम्म पुगे, र पश्चिममा भएका मजदुर पूर्व फर्किए । काम र माम दुवै नभएपछि उपत्यकामै अलपत्र मजदुरहरू पनि पैदलै गाउँ फर्किन बाध्य भए । 

तर, गत आइतबार भने आफ्नो जिल्लाका मजदुरलाई गाडी चढाउन ऊर्जामन्त्री वर्षमान पुन आफैँ सडकमा पुगे । उनले साँखुमा अलपत्र रोल्पाका ५० मजदुरलाई बस चढाएर पठाए । त्यो दिन भक्तपुरबाट सात र ललितपुरबाट दुईवटा बसमा रोल्पाली मजदुर घर फर्किए । लगत्तै, ९ वैशाखमा पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले पनि कलंकीमा बस व्यवस्थापन गरेर आफ्ना मतदातालाई गृहजिल्ला अर्घाखाँँची पठाए । मन्त्री र सांसदले आफ्ना मतदातालाई मात्रै गाडी चढाएपछि काठमाडौं छाड्नेको संख्या झन् बढ्यो । 

‘मन्त्रीज्यूले पठाउनुभएको दिनदेखि बाहिरिनेको संख्या बढ्यो, अहिले पनि जाने क्रम निरन्तर छ, तर अलि भीड कम छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सबिन प्रधानले भने । उनका अनुसार भक्तपुरको जगाति नाकाबाट मात्रै ६-७ दिनको अवधिमा करिब डेढ एक लाख मानिस गाउँ फर्किएका छन् । सरकारले घर फर्कन दिने औपचारिक निर्णय नगरे पनि अवस्था हेरेर उद्धारमा सहयोग गरिरहेको एसपी प्रधानले बताए ।

थानकोट नाकाबाट पनि ठूलो संख्यामा मानिसहरू बाहिरिएको प्रहरीले जनाएको छ । ‘लकडाउनका वेला यात्रु बोक्ने गाडी गुडाउन पाइँदैन, हामीलाई त्यही निर्देशन छ । तर, केही स्थानीय तहले पास लिएर गाडी पठाएका छन्, त्यसैले मान्छेहरूको उपत्यका छाड्ने क्रम जारी छ,’ काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भने । 

बेखर्ची भएको र राहत नपाएकाले उपत्यका छाड्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । यसरी बसहरूमा ठेलमठेल गरेर लैजाँदा संक्रमण विस्तारको जोखिमसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीको चिन्ता छ । काठमाडौंबाट लगेकाहरूलाई कतिपय स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् भने कतिपयले सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै सीधै घर पठाएका छन् ।

स्थानीय तहलाई गाडीमा ठेलमठेल गरेर मान्छे ओसार्न प्रहरी र प्रशासनले पनि मौन स्वीकृति दिएका छन् । ‘हामीले लकडाउन कार्यान्वयन गराउनुपर्छ, त्यही निर्देशन छ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भनिन, ‘यता, सडकमा मान्छेको बिजोग हेर्दा नियमभन्दा मान्छेको भोक र पीडा ठूलो हो भन्ने लाग्छ ।’ 

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले स्थानीय तहलाई मान्छे ओसार्न स्वीकृति नदिएको बताए । ‘सुरुमा धेरै हिँडेरै आए, अहिले पनि केही नगरपालिकाले मान्छे ल्याइरहेका छन्, तर हामीलाई जानकारी छैन, अप्ठ्यारै परेकाहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्नु पनि ठीकै हो,’ उनले भने । मोरङको रतुवामाई नगरपालिकाले काठमाडौंबाट करिब सयजनालाई घर फर्काएकोे मेयर रविन राईले बताए । ‘सबैको माग गाउँ आउने देखियो, त्यसैले उनीहरूलाई गाउँ ल्यायौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

चर्काे भाडा असुलिँदै
लकडाउनको वेलामा यात्रु ओसार्न बसहरूले चर्काे भाडा लिने गरेका छन् । करिब पाँच सय किलोमिटरको दूरीमा जान रिजर्भ गर्दा ८० हजार रुपैयाँसम्म लिएको प्रहरी स्रोत बताउँछ । त्यस्तो भाडा धेरैजसो स्थानीय तहले तिरेका छन् । कतिपय सर्वसाधारणले आफैँले पैसा उठाएर पनि गाडी रिजर्भ गरेका छन् ।

२५ वैशाखसम्म लकडाउन 

सरकारले आगामी २५ वैशाखसम्म लकडाउन थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय लम्ब्याएको हो । आगामी ३१ वैशाखसम्म अन्तर्राष्ट्रिय सीमा बन्द कायम गरिएकोे छ । हवाई उडान २ जेठसम्म रोक्ने निर्णय भइसकेको छ । जेठको पहिलो सातापछि मात्र परिस्थिति हेरेर लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । कृषि तथा उत्पादनजन्य उद्योगहरू भने मापदण्ड पुर्‍याएमा चलाउन दिनसकिने निर्णयसमेत भएको एक मन्त्रीले बताए । नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्