लकडाउनले महिला हिंसाको जोखिम, यस्तो छ मनोवैज्ञानिक कारण



काठमाडाैं : कोरोनाको महामारीले अहिले विश्व नै आक्रान्त बनेको छ । कोरोनाको विपत्तिबाट जोगिन धेरै देशले लकडाउनको उपाय अवलम्बन गरेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन यसलाई उत्तम उपायको रूपमा लिइएको छ । विश्वका प्राय सबै मानिसहरू घरभित्रै परिवारसँग एकान्तबासमा रहेका छन् । अहिलेको अवस्थामा शारीरिक तथा मानसिक स्वास्थ्य दुबैका हिसाबले गुप्तबाँस बस्नु राम्रो हो ।

बिपतको बेला परिवारका सबै सदस्यहरू एकै ठाउँमा हुँदा मानसिक रूपमा व्यक्तिले आफू सुरक्षित भएको महसुस गर्छ । घर परिवारका सदस्य एकै ठाउँमा हुँदा एक अर्कालाई ढाडस तथा हौसला मिल्ने, माया, ममता पाउने, एकले अर्काको भावना बुझ्ने, सहयोगको आदान प्रदान हुने आदि जस्ता कार्यले कोरोनाको डर, त्रास, भय पनि कम भएर जान्छ । विपत्तिका बेला मानसिक रूपमा स्वास्थ्य रहनका लागि पनि परिवारका सबै सदस्यहरू सँगै रहनु महत्त्वपूर्ण मानिन्छ ।

प्राय सबैका लागि आफ्नो घर नै सबै भन्दा सुरक्षित ठाउँ पनि हो । रोग व्याधिको सङ्क्रमण तथा प्राकृतिक प्रकोप आदि जस्ता विपत्तिका बेला मानिसले घर परिबार नै सम्झन्छन् । घर परिवारसँगै हुने चाहना बढेर आउँछ ।

लकडाउनले पारिवारिक सम्बन्ध राम्रो बनाउने अवसर पनि दिएको छ । आधुनिक व्यस्त जीवन शैलीका कारण चाहेर पनि मानिसले आफ्नो घर परिकारलाई समय दिन सकिरहेका छैनन्। अहिले यो अवसर मिलेको छ । एकले अर्काको भावना बुझ्ने , सम्बन्धलाई मजबुत बनाउने सुनौलो समय हो यो । सम्बन्धलाई नवीकरण गर्ने मौका पनि हो । एक अर्का बिच मनमुटाब बढ्नु तथा सम्बन्ध बिग्रँदै जानुको कारण एकले अर्कोलाई बुझ्न नसक्नु नै हो । एकले अर्कोलाई राम्रोसँग बुझ्नुका लागि घेरै समय साथै रहने, आपसमा कुराकानी गर्ने गर्नु महत्त्वपूर्ण हुन्छ ।

अहिले यो मौका मिलेका कारण पारिवारिक सम्बन्ध राम्रो हुने, आत्मीयता , समझदारी बढेन अनुमान गरिएता पनि लकडाउन पछि घरेलु हिंसा, यौन हिंसा , महिला हिंसा, बालबालिका माथि हुने दुर्व्यवहार, ज्येष्ठ नागरिक माथिको हिंसा, डिभोर्स जस्ता घटनाहरू बढ्दै गएको तथ्याङ्क देखिएको छ । लकडाउनमा रहेका प्राय सबै जसो देशहरूमा घरेलु हिंसा उल्लेख्य मात्रामा वृद्धि भएर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

ब्राजिलदेखि जर्मनी, इटाली हुँदै चीनसम्म हिंसा विरुद्धका अभियन्ता र पीडितले लकडाउन तथा क्वारेन्टाइन अवधिमा दुर्व्यवहार बढेको बताएका छन् । ब्राजिलमा घरेलु हिंसा ४० देखि ५० प्रतिशत बढेको अनुमान त्यहाँका न्यायाधीशले लगाएका छन् । फ्रान्स १७ मार्चदेखि लकडाउनमा छ । यहाँ पछिल्लो एक हप्तामा घरेलु हिंसाका घटनामा ३२ प्रतिशतको वृद्धि भएको देखिएको छ । द गार्डियन अनलाइनले चीनको हुबईमा फ्रेबुअरीमा मात्र घरेलु हिंसा साधारण समयमा भन्दा तीन गुणा बढेको त्यहाँको प्रहरीलाई उद्रित गर्दै लेखेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार लकडाउनको क्रममा महिला हिंसाको उजुरीमा दोब्बरको वृद्धि भएको छ । नेपालमा पनि लकडाउनका बेला महिला तथा घरेलु हिंसाका घटना बढेको समाचार आउन थालेका छन् । यसो हुनुका पछाडिको केही मनोवैज्ञानिक कारणहरू रहेका छन् ।

कुनै परिस्थितिमा व्यक्तिले कस्तो व्यवहार देखाउँछ भन्ने कुरा स्वयं व्यक्तिको ज्ञान, सीप, अनुभव जस्ता कुरामा भर पर्छ । आपत्, बिपत, अप्ठ्यारो परिस्थितिमा व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि त नकारात्मक व्यवहार गर्छ । नकारात्मक क्रियाकलापले समस्या झनै बढाउँदै जान्छ ।

लकडाउनलाई व्यक्तिले कसरी उपयोग गरिरहेको छ भन्ने कुरा पनि व्यक्ति पिच्छे फरक फरक हुन्छ । कसैको लागि लकडाउन उपयोगी र अवसर साबित भई रहेको हुन सक्छ भने कतिको लागि बोझिलो र सङ्कट पूर्ण पनि हुनसक्छ । अप्ठ्यारो अवस्थामा घर परिवारका सदस्यहरूले एकले अर्कोको भावना बुझ्न सकेन, सहयोगको आदान प्रदान भएन, अर्कोलाई आदर सम्मान गर्न जानेन भने कलह बढेर जान्छ । भनिन्छ आपत् बिपतमा नै मान्छे चिनिन्छ ।

अन्तर वैयक्तिक सम्बन्ध राम्रो बनाउने सीपको कमी हुँदा पनि सम्बन्ध बिग्रन सक्छ । सबैमा यस्तो सीप हुन्छ भन्न सकिँदैन । जसको कारण पनि घरेलु हिंसाको भइरहेको हुन सक्छ ।

मानिसहरू अहिले कोरोनाको डर, त्रास, भयको कारण तनावमा छन् । तनावको बेला सानो सानो कुरामा पनि झनक्क रिस उठने, आवेशमा आउने, जिद्दीपन, चिढ चिढा पन, छटपटी बढेन गर्छ । यस्तो बेलामा निर्णय लिन पनि गाह्रो पर्न सक्छ । जाँडरक्सी तथा लागू पदार्थको सेवन बढेन सक्छ । परिबार, आफन्त प्रति शङ्का लाग्ने आदि जस्ता लक्षण देखा पर्न सक्छन् । यसले पनि पारिवारिक कलह तथा हिंसाका घटनाहरू बढाई रहेको हुन सक्छ । हाम्रो समाजमा धेरै जसो घरेलु हिंसा तथा महिला हिंसा जाँड – रक्सी तथा लागू पदार्थको सेवनका कारणले भएको देखिन्छ ।

विपत्तिले पुरुषलाई भन्दा महिलालाई बढी मानसिक असर पुर्याउछ । साथै लकडाउनले महिलाहरूमा घरायसी कामको बोझ पनि बढाएको अनुमान गर्न सकिन्छ । जसको कारण महिलाहरूमा अझै बढी तनाव, निराशा पैदा भएको हुनुपर्छ । यस्तो अवस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा परिवारमा असमझदारी तथा झैझगडा हुन पुग्छ ।

लकडाउनको समयलाई सृजनशील रूपमा बिताउन नजान्दा फुर्सदको बेला जति बेला पनि सोच यौनतिर जान सक्छ । यौन जोडी यसमा तयार नहुँदा यौन हिंसा समेत हुन पुग्छ । यौनको मामलामा श्रीमतीको इच्छा नबुझीकन यौन कार्यमा संलग्न हुनु अहिलेको समयमा अझ बढी घातक साबित हुन सक्छ । अति तनाव, डर, चिन्ताको बेलामा यौनको रुचि कम भएर जान्छ । यो कुराको ख्याल यौन जोडिले गर्नु पर्छ । यौन जोडिले तनावको कारण जाँड रक्सी सेवन गरी यौन उत्सुकता देखाउन सक्छ । जसले सम्बन्धमा समस्या ल्याउने गर्छ।

साना साना कुरामा कचकच गर्ने बानी छ भने पनि यो समयमा पारिवारिक कलह बढ्न सक्छ । यस्तो बानीले आगोमा घिउको काम गर्न सक्छ । तनावको अवस्थामा जिस्कने, अनावश्यक ठट्टा गर्नु पनि राम्रो होइन । तनाव , चिन्ताको बेला व्यक्तिले कुन कुरा सही हो कुन ठट्टा हो छुट्टाउन नसकिरहेको पनि हुनसक्छ । ख्याल ख्यालैमा झ्याल पर्ला नि भन्ने नै गरिन्छ ।

कोरोनाको सङ्कटले शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यका साथै आर्थिक जटिलता पनि बढाउँदै लगेको छ । आर्थिक सङ्कटको बेला आफ्ना आधारभूत आवश्यकताहरू पूरा नहुँदा पनि पारिवारिक कलह बढेन जोखिम बढी हुन्छ ।

कोरोनाको डर त्रासको अवस्थामा बुद्धिमानी पूर्वक समयको सही सदुपयोग गर्न सकेको खण्डमा शारीरिक, मानसिक, पारिवारिक सबै हिसाबले उत्पादन मूलक हुन्छ ।

विपत्तिले ल्याउने मानसिक, पारिवारिक, अन्तर वैयक्तिक, आर्थिक , सामाजिक जस्ता असरलाई सबैले बुझी सोही अनुसार व्यवहार गर्नु पर्छ । शारीरिक सरसफाइमा ध्यान दिँदै गुप्तबासमा बस्नु र मानसिक रूपमा आत्मबल उच्च बनाइ राख्नु अहिलेको आवश्यकता हो ।

विपत्तिको बेला परिवारमा धैर्यता र समझदारी आवश्यक हुन्छ । सङ्कटको बेला जीवन शैलीमा समेत परिवर्तन आउँछ । विपत्तिले पारेको शारीरिक , मानसिक, सामाजिक असरलाई ख्याल गर्दै परिवर्तित अवस्थामा एक अर्कोको मनोविज्ञानलाई बुझ्दै व्यवहार गर्ने हो भने पारिवारिक कलह तथा घरेलु हिंसालाई रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्