जब ड्राइभरबिनै गाडी गुड्यो..



सिन्धुली : फिक्कल–२ चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे। केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो। चालक पुनः बोलेरोमा पसेर स्टेयरिङ समाउँदै रोक्ने प्रयास गरे पनि सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए। बा.१५च ९४२२ नम्बरकोबोलेरो चालकसहित सडकबाट २ सय मिटर तल पहरामा खस्यो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नौ यात्रु घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी सिन्धुलीका डीएसपी लोकदर्शन थापाले जानकारी दिए।

मृत्यु हुनेमा फिक्कल–२ की ५५ वर्षकी तिलमाया विक, वर्ष ६२ का कुनमान तामाङ, वर्ष ४५ की लक्ष्मी विक, वर्ष २५ की अनिता महत र वडा नम्बर ३ की वर्ष ३६ की शान्तामाया श्रेष्ठ छन्। महतको उपचारका क्रममा खुर्कोटस्थित शुभजीवन अस्पताल र अन्य घटनास्थलमा मृत्यु भएको डीएसपी थापाले सुनाए।

घाइते हुनेमा चण्डीभञ्ज्याङका मानबहादुर सुनुवार (बोलेरो चालक), गंगामाया विक, जयप्रसाद न्यौपाने, दीपककुमार सुनुवार, दीपक  श्रेष्ठ, फिक्कल–१ की चन्द्रमाया विक, राजेश सुनुवार, नन्दलाल विक र तीनपाटन गाउँपालिकाका गणेश घिसिङ छन्। चाकलसहित गम्भीर अवस्थामा रहेको थापाको भनाइ छ। उनीहरूलाई थप उपचारका लागि काभ्रे धुलिखेल र काठमाडौंतर्फ पठाइएको छ।

फिक्कल–पोखरीबाट गाउँपालिका केन्द्र फिक्कलबेंसीतर्फ आउँदै गरेकोबोलेरो चालकले पिसाब गर्न रोकेका थिए। सबै ढोका बन्द भएका कारण यात्र निस्किन नसक्दा मानवीय क्षति भएको उद्धारमा संलग्न गाउँपालिका अध्यक्ष घनश्याम कार्कीले बताए। उनीहरू गाउँपालिका केन्द्रमा सञ्चालित शिविरमा आँखा जँचाउन आउँदै थिए। चालक पिसाब गर्न जाँदा न्युट्रलमा भएको गाडीको गेयर कसैले चलाउँदा अचानक गुडेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ। स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

बुधबार राति जन्ती बोकेको टिपर सुनकोसी गाउँपालिका–२, कमेरे फाँटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो। ४० जना घाइते भएका छन्। बा.४ख ९४३८ नम्बरको टिपर रामेछाप खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्किंदै थियो। दुर्घटनामा काभ्रे तिमाल–९, की २२ वर्षकी कृष्णमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ।

दाङमा एकको ज्यान गयो

बसले कारलाई ठक्कर दिँदा रूकुम मुसिकोट नगरपालिकाकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको छ। दुर्घटनामा प्रदेश ५ का सांसद उत्तरकुमार वलीसहित १४ जना घाइते भएको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए। वली सवार बा.१८च ६८३६ नम्बरको कारलाई घोराही–लमही सडकको मसोट चिसापानीमा ना.५ख ५५२९ नम्बरको बसले ठक्क दिएको थियो। टेम्पो पल्टिँदा चार घाइते

बिर्तामोड : झापा भद्रपुर–१ हिमाली चोकमा बिहीबार टेम्पो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। टेम्पो चालक भद्रपुर–६ की निन्दु माझी, रैनी माझी, कचनकवल–१ की आमोदी माझी र ठेगाना नखुलेकी फूलमुनिया साह घाइते भएका हुन्। चारआली–केचना सडकमा मे.१ह ३५९१ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइतेलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी झापाले जनाएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्