विराटनगरबाट काठमाडौं आएका १६० मध्ये ४२ जना ११ घण्टादेखि थानकोटमा अलपत्र



काठमाडौं : काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोटस्थित नागढुंगामा १ सय ६० यात्रु करिब ११ घण्टादेखि अलपत्र परेका छन् ।

आइतबार दिउँसो ३ बजे विराटनगर महानगरपालिकाले सात वटा बसमा काठमाडौं पठाएका यात्रु बिहान ५ थानकोट आइपुगेका थिए ।

कामका सिलसिलामा जाँदा लकडाउनका कारण उतै थुनिएका उनीहरुलाई विराटनगर महानगरपालिले समन्वय गरेर काठमाडौं पठाएको थियो । उनीहरु चढेर आएका केही गाडी फर्किसकेका छन् । तर प्रहरीले यात्रुहरुलाई रोकेर राखेको छ ।

ना ६ ख ९१४०, ना ७ ख ९५४, ना ७ ख ९५५, ना ८ ख ८००१, ना ८ ख ८००२, ना ५ ख ६८८ र ना ५ ख ८००४ नम्बरका बसहरु विराटनगरबाट काठमाडौं आएका हुन् ।

विराटनगर, विर्तामोड र जोमसोमलगायत स्थानबाट आएका उनीहरु यात्रुहरु अलपत्र परेका हुन् ।

यता यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा, थानकोट लगायतका स्थानमा अवलोकन नाकामा पुगेका छन् । उनीहरुले यात्रुहरुलाई फर्काउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

निर्देशन पाएलगत्तै एसएसपी ज्ञवालीले पास बिनाका कुनै पनि गाडि प्रवेश नदिने बताए ।

यहाँ आएका सबै गाडी फर्काउन भनिएको उनले बताए ।

यसभन्दा अगाडी यात्रुहरुको व्यत्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोकेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १ सय ६० यात्रुमध्ये ४२ जनालाई अहिले एसएसपी ज्ञवालीको निर्देशन आएपछि चेकपोस्टमै रोक्नु परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्