लकडाउनको समयमा पनि विकास निर्माणको काम गरिने



जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले लकडाउनको समयमा पनि पूर्वाधार निर्माणको कामलाई तिव्रता दिने बताएका छन् ।

लकडाउनको अवधिमा विकास निर्माणको कार्यलाई तीब्रता दिन उनले सरोकारवालाहरुसँग छलफल गरेका हुन् । उनले भने,‘कोरोनाबाट जोगिँदै विकास निर्माणको कार्य पनि नरोकियोस् भन्दै तयारी तीब्र पारिएको हो ।’ उनले सडक विस्तारतर्फ प्रदेश २ को एक जिल्लालाई अर्को जिल्लासँग जोड्ने, एक स्थानीय तहलाई अर्को स्थानीय तहसँग जोड्ने, कालोपत्रे सडकलगायतको विषयमा छलफल भएको बताए ।

लकडाउनको अवधिमा विकास निर्माणको कामसम्बन्धि तयारी गर्ने र सम्भव भए काम पनि अगाडि बढाइने उनले जानकारी दिए । छलफलमा उनीसहित राज्यमन्त्री डिम्पल झा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राजेन्द्र खनाल र महाशाखा प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्