भेरीको कोरोना प्रयोगशालामा सामग्री अभाव



नेपालगन्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा संचालित कोरोना प्रयोगशालामा अत्यावश्यक सामग्री अभाव भएको छ ।

एक हप्ताअघि संचालनमा आएको कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर) मा शंकास्पद बिरामीको स्वाब नमूना संकलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा.प्रकाश थापाले जानकारी दिएका छन् ।

आइसोलेशन अस्पतालमा रहेका कोरोना शंकास्पद बिरामीको स्वाव नमूनाका रुपमा खकार र र्याल संकलनका लागि भिटिएमको प्रयोग हुन्छ । अस्पतालमा रहेका बिरामीको भिटिएममा नमूना संकलन गरी प्रयोगशालासम्म पुर्याएर आरटीपिसिआर यन्त्रमार्फत् कोरोना भाइरस परीक्षण गर्ने गरिएको छ ।

डा.थापाले भिटिएमको अभाव भएकाले गर्नैपर्ने व्यक्तिको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको बताए । भीटीएम अभाव हुना साथ प्रदेश र केन्द्रमा माग गरिए पनि आइ नपुगेका कारण कोरोना परीक्षणमा समस्या हुने गरेको उनको भनाइ छ ।

यही वैशाख ७ गतेदेखि भेरी अस्पतालको प्रयोगशालामा आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण शुरु गरिएको थियो । भेरी अस्पतालमा बाँके, बर्दिया र दाङबाट कोरोना परीक्षणका लागि स्वाब नमूना आउने गरेको छ ।

‘कोरोना भाइरस परीक्षण बिरामी सीधै प्रयोगशालामा आएर गर्ने होइन, अस्पतालमा भर्ना भएपश्चात् जाँच गराउनुपर्ने आवश्यकताका आधारमा अस्पतालले स्वाब नमूना संकलन गरेर पठाउनुपर्छ’, डा. थापाले भने, ‘कोरोना परीक्षण गराउनुपर्ने अवस्थाका बिरामी नहुनु राम्रो हो तर अस्पतालसम्म नपुगेका वा अस्पतालबाट पनि नमूना संकलन हुन नसकेमा चिन्ता मान्नुपर्छ ।’
बाँके र बर्दियाका शंकास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालको प्रयोगशालामा संचालनमा आएको आरटीपिसिआर यन्त्रबाट एक दिनमा कम्तीमा ७० देखि सय जनाको नमूना परीक्षण गर्न सकिने डा.थापाको भनाइ छ । भेरी अस्पतालमा कोरोना परीक्षण यन्त्र संचालनमा नआउँदा जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालमा भर्ना भएका आशंकित बिरामीको स्वाब नमूना संकलन गरेर काठमाडौं र भैरहवास्थित प्रयोगशालामा पठाउने गरेको थियो ।

भेरी अस्पतालमा यन्त्र संचालन भएपछि नमूना संकलन गर्ने कार्य स्वास्थ्य कार्यालयबाट बन्द भएको कार्यालय प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । माग भए अनुसारको परिमाण भन्दा न्यून मात्रामा प्रदेशबाट पठाइने गरिएकाले भिटिएमलगायत स्वास्थ्य सामग्रीको अभाव हुने गरेको शाहले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्