कैलालीका पेट्रोल पम्पमा मानिसको बाक्लो भीड



कैलाली : सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दै कैलालीका विभिन्न पेट्रोल पम्पमा मानिसहरुको बाक्लो भीडभाड भएको छ ।

लामो समयपछि पम्पमा पेट्रोल आएको र बन्दाबन्दीका कारणले पनि पेट्रोल पम्पमा मानिसहरुको भीड बाक्लिएको हो ।

जिल्लाको टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकामा लकडाउनको उलंघन भएको छ । यी पालिका अन्तर्गत रहेका पेट्रोल पम्पमा सोमबार मानिसहरुको निकै भीडभाड देखिएको छ ।

उक्त भीडभाडमा प्रहरीको समेत उपस्थिति भएपनि प्रहरी आफै मूकदर्शक बनेको देखिन्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सुरक्षा सतर्कताका लागि नागरिकले सामाजिक दूरी कायम गर्नुपर्ने भनिएपनि यसको बेवास्ता गर्दै उनीहरू प्रहरीकै अगाडी पेट्रोल पम्पमा लाइन लागेका थिए ।

सरकारले पाँचौं पटक लकडाउनको मिति सारेको भोलिपल्ट टीकापुर लगायत लम्की र भजनीमा माहोल फरक बनेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु समेत भीडभाडको बीचमा भएतापनि उनीहरुले सामाजिक दूरी कायम राखी जम्मा भएको भीडलाई व्यवस्थापन गर्न सकेनन् ।

कैलालीमा जिल्ला प्रशासन कार्यालयले समेत अत्यावश्क काम बाहेक घर बाहिर निस्किन र लकडाउनको पालना गर्न अनुरोध गरेका बेला नागरिकको बजारमा अनावश्यक भिड समेत बढ्न थालेको छ ।

जिल्ला प्रशासनले अत्यावश्यक कामका लागि पासको व्यवस्था गरेपनि अझै उल्लंघनको क्रम भने रोकिएको छैन । अत्यावश्क सामाग्री किन्ने बाहनामा नागरिकहरु किराना पसल, मेडिकल लगायतका स्थानमा जम्मा हुन थालेका छन् ।

जसमा सामाजिक दूरीको पनि ख्याल गरिएको छैन । जसले गर्दा जोखिम बढाएको छ । प्रहरी प्रशासनको समेत अनुमति बिना लकडाउनको उलंघन गर्दै बजारमा सामान किनमेल गर्ने मानिस र सवारी साधनमा आवातजावत गर्ने मानिसहरुको चहलपहल बढ्न थालेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहर भट्टले लकडाउनको सबैले पालना गर्नुपर्ने बताए । लकडाउन उल्लंघन गर्नेलाई छुट नदिने बताउँदै उनले पेट्रोल हाल्नका लागि सोमबार बिहान २ घण्टाको समय दिएको तर भिडभाड सोचेभन्दा बढी र फरक किसिमले भएको बताए ।

आकस्मिक कसैलाई पनि पेट्रोल चाहिन सक्ने भएकाले केही छुट दिइएको तर, अनावश्यक रुपमा पेट्रोल हाल्नेहरु पनि जम्मा भएको र यसरी आकस्मिक बाहेक अन्यले पेट्रोल हालेको भए आवश्यक कदम अगाडी बढाइने बताए । सरकारले यसअघि गत चैत्र ११ गतेदेखि नेपालमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न लकडाउनको घोषणा गरेको थियो ।

त्यसपछि पाँचौं पटक आइतबार बसेको नेपाल सरकारले मन्त्रीपरिषदको बैठकले १० दिनका लागि मिति थप गर्दै बैशाख २५ गतेसम्मका लकडाउन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्