प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा : नेपाल समूह



मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेरमा सहमति गरौं : ओली समूह

काठमाडौं : नेकपाभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न नेताहरूले वार्ता तीव्र बनाएका छन् । चरणबद्ध रूपमा भएका वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेको छ । ओली समूहले भने मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गरेर सहमति गर्न खोजेको छ । 

विवाद समाधान गर्न प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सक्रिय छन् । ओली समूह र नेपाल समूहका नेताहरूबीच सोमबार कोटेश्वरस्थित वन पैदावारको कार्यालयमा साढे चार घन्टा छलफल भएको थियो । अर्को समूहको तर्फबाट नेता नेपाल स्वयं, भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी थिए । छलफलमा महासचिव महासचिव विष्णु पौडेलले पनि भाग लिएका थिए । 

पार्टी र आन्दोलनको नेतृत्व गरेर यहाँसम्म आएको हुनाले माधव नेपालले संयमित भएर समझदारी निर्माणको अगुवाइ गर्न ओली समूहका नेताहरूले आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले पार्टी एकता बचाएर लैजान पनि अहिलेको अवस्थामा कम्तीमा पनि पूर्वएमाले समूह एकैठाउँ उभिनुपर्ने भन्दै त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए । तर, माओवादीसँग एकीकरण हुनुअघिदेखि नै गुटका आधारमा पार्टी नेताहरूलाई हेप्ने र पाखा लगाउने काम हुँदै आएकाले अहिलेको अवस्था सिर्जना भएको नेपालको भनाइ थियो । 

‘यो समस्याको लामो पृष्ठभूमि छ । त्यसैले पार्टी पद्धतिबाटै निकास निकाल्नुपर्छ, त्यसैले सचिवालय र स्थायी समितिको बैठक बोलाउनुपर्छ, पार्टीभित्र विवाद चर्किनुको सबै जिम्मेवारी लिँदै प्रधानमन्त्री र अध्यक्षको हैसियतबाट उहाँले निकास दिनुपर्छ, छोड्नुपर्छ भनेर माधव कमरेडले स्पष्ट भनाइ राख्नुभयो,’ छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने । 

पार्टीभित्र उत्पन्न संकटको समाधान प्रधानमन्त्रीको राजीनामा नै हो भन्नेमा आफू एक्लो नभएको नेपालको भनाइ थियो । पाण्डेका अनुसार नेपालले भनेका थिए, ‘भर्खरै पनि वामदेव कमरेडले फोन गरेर शनिबारको भेटमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भनेका कुरामा म अडिग छु, त्यसबाट म दायाँ–बायाँ हुन्न र भएको छैन भनिरहनुभएको छ, संकट समाधानको उपाय त्यही हो, अरू उपाय केही छ भने पनि बैठकमा छलफल गरेर अघि बढौँ ।’

उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष र प्रधानमन्त्रीलाई दुवै पदबाट मुक्त गराएर अवमूल्यन गर्न खोजिएको टिप्पणी गरेका थिए । ‘प्रधानमन्त्रीलाई यतिसम्म ह्युमिलेट त गर्नुभएन नि,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

ओली समूहका नेताहरूले पार्टीभित्र आफूहरूलाई नेपालको नेतृत्व स्वीकार्य हुने र त्यसका लागि एकता महाधिवेशनसम्म धैर्य गर्न सुझाएका थिए । बरु, अहिले नै समझदारी विकास गरेर जान सकिने उनीहरूको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूको भनाइ थियो, ‘यो पार्टी निर्माणमा, अहिलेसम्म यो अवस्थामा ल्याइपुर्‍याउन तपाईंको निर्णायक योगदान छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पनि सन्तुलित र समन्वयकारी नेताका रूपमा तपाईंको पहिचान बनेको छ,’ शंकर पोखरेलको भनाइ थियो, ‘त्यसैले अहिले सरकारलाई सफल बनाउने काममा तपाईंले भूमिका खेल्नुपर्छ, महाधिवेशनबाट तपाईंले पार्टीको नेतृत्व गर्ने गरी अहिल्यै समझदारी बनाएर अघि जान सकिन्छ ।’

त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विगतका कमीकमजोरी दोहोरिन नदिने संकल्पसहित मन्त्रिपरिषद् पुनर्गठन र केही मुख्यमन्त्री हेरफेर तथा नियुक्तिहरूमा ‘पावर सेयरिङ’मा समझदारी गर्दै अघि बढ्ने गरी समझदारी निर्माणको प्रस्ताव गरेका थिए । 

छलफलमा सहभागी नेता ज्ञवालीले राजनीतिक स्थिरतामा आँच पुग्ने बाटोतर्फ जानुहुँदैन भन्ने विषयमा छलफल भएको बताए । ‘खुलस्त र राम्रो छलफल भयो । कम्युनिस्ट आन्दोलन, राजनीतिक स्थिरता र देशको भविष्यप्रति साझा चिन्ता प्रकट भएको छ । त्यो चिन्तालाई आधार बनाएर समझदारी खोज्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘विषयलाई तन्काउने काम गर्नुहुँदैन, जहाँजहाँ कमीकमजोरी छन्, ती ठाउँहरूममा समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो ।’ 

उनले पार्टीका बैठकहरू बस्नुपर्ने, तर पहिले नै अडान लिएर बस्दा समाधान नहुने बताए । ‘बैठक बस्न जरुरी पनि छ, तर पहिले नै पोजिसन बनाएर गरिने बैठकबाट समाधान हुँदैन । त्यसकारण विभिन्न अनौपचारिक तहमा कुराकानी गरेर, अनुकूल वातावरण बनाएर बैठक बस्दा राम्रो हुन्छ भन्ने कुरा हामीले गर्‍यौँ,’ उनले भने, ‘जे जनताको अपेक्षा हो, हिजो चुनावमा जे प्रतिबद्धता गर्‍यौँ, राजनीतिक स्थिरतामा आँच पुग्ने बाटोतर्फ जानुहुँदैन भन्ने नै मोटामोटी छलफल भयो ।’

तर, नेपाल समूहका सबै नेताले भने मन्त्रिपरिषद् पुनर्गठनभन्दा पनि पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन गर्न ओलीकै अहंका कारण अन्तरविरोध उत्कर्षमा पुगेकाले जिम्मेवारी लिएर पदबाटै हट्दा उपयुक्त हुने प्रस्ताव दोहोर्‍याएका थिए । 

‘पार्टीलाई एकताबद्ध बनाएर लैजान कहिले को अघि बढ्नुपर्छ, कहिले को पछाडि हट्नुपर्छ, त्यसमा अन्यथा लिनुहुन्न । अहिले जे–जस्तो परिस्थिति उत्पन्न भएको छ, यो अरूको कारणले होइन । त्यसैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले नै निकास दिनुपर्छ भन्ने कुरा राखेका छौँ,’ नेपाल समूहका नेता रघुजी पन्तले भने, ‘हामीले अहिलेको अवस्थाबाट पार्टी र सरकार दुवै अघि बढ्न नसक्ने भएकाले सचिवालय र स्थायी समिति बैठक तत्काल बोलाएर निकास खोज्नुपर्ने प्रस्ताव गरेका छौँ ।’

उनले अर्कोतर्फबाट कुनै ठोस एजेन्डा प्रस्तुत नभएका कारण छलफल विनानिष्कर्ष टुंगिए पनि पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा भने राम्रैसँग छलफल भएको बताए । ‘धेरैजसो लामै सैद्धान्तिक कुरा मात्रै भए, उहाँहरूका तर्फबाट कुनै ठोस प्रस्ताव नआएकाले कुनै निष्कर्ष ननिस्किए पनि पार्टीलाई एकताबद्ध बनाउने कुरामा राम्रै छलफल भएको छ,’ पन्तले भने । 

त्यस्तै, माथिदेखि तलैसम्म एक व्यक्ति, एक पदीय जिम्मेवारीलाई नीतिगत रूपमै लागू गरेर जिम्मेवारी पुनर्गठन गर्नुपर्ने, पार्टीको संस्थागत निर्णयका आधारमा मात्र सरकार नियन्त्रणमा चल्नुपर्नेलगायत विषयमा छलफल भएको थियो । 

ओलीले सधैँ जालझेल र षड्यन्त्र मात्रै गर्नुभो : नेपाल 

वरिष्ठ नेता नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेका थिए । ‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका साथीरूलाई इगो साँध्ने, जिम्मेवारीमा वञ्चित गर्ने काम भो, अहिले पनि उहाँले जाल–झेल षड्यन्त्र गर्ने, एउटा नेताविरुद्ध अर्कोलाई लडाउने, जुधाउने, फुटाउने काम गर्नुभयो, सामूहिक निर्णय र संस्थागत पद्धतिलाई जहिल्यै इग्नोर गर्ने काम गर्नुभो, त्यसकारण उहाँ जिम्मेवारीबाट हट्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने । 

बालुवाटार–खुमल्टार–कोटेश्वर छलफल : मंगलबार सचिवालय 
पछिल्लो अन्तरविरोध समाधानका लागि नेकपाका नेताहरूबीच मंगलबार सचिवालय बैठक बोलाएर छलफल गर्ने सहमति भएको छ । कोटेश्वर छलफलअघि बालुवाटारमा प्रधानमन्त्री ओली र नेपाल, खुमल्टारमा अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको बेग्लाबेग्लै सहमतिपछि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । 

ओलीसँगको छलफलमा नेता नेपालले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । लगत्तै ओली समूह र नेपाल समूहका नेताहरूबीच संवाद चलिरहँदा अध्यक्ष प्रचण्डले पालैपालो खुमलटारमा खनाल र गौतमसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताए । दुई नेताबीचको दुई घन्टा लामोे छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टीभित्र उत्पन्न समस्याबारे समेत समीक्षा भएको थियो । त्यस्तै, प्रचण्डसँगको भेटलगत्तै उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँग बैठकका विषयमा केन्द्रित रहेर टेलिफोन संवाद गरेका थिए । 

बालुवाटारमा सांसदहरूसँग प्रधानमन्त्री : घेराबन्दी गरेर अस्थिरता मच्चाउन खोजिँदै छ, आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस् 

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले आफूनिकट सांसदहरूसँग छलफल गरेका छन् । सोमबार साँझ करिब तीन दर्जन सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको बताए । छलफलमा सहभागी सांसद विजय सुब्बाले प्रधानमन्त्रीले विकसित राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेको बताए । ‘मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेको संकटका वेला अहिले सरकारमाथि पार्टीभित्रैका शीर्ष नेताहरूको अगुवाइमा घेराबन्दी भइरहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको छ, यसबारे तपाईंहरू सचेत हुनुपर्छ, आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस् ।’

विवादको जिम्मेवारी लिएर ओली कमरेडले निकास दिनुपर्छ : सुरेन्द्र पाण्डे

सचिवालय र स्थायी समितिको बैठक बोलाउनुपर्छ, पार्टीभित्र विवाद चर्किनुको सबै जिम्मेवारी लिँदै प्रधानमन्त्री र अध्यक्षको हैसियतबाट ओली कमरेडले निकास दिनुपर्छ भनेर हामीले स्पष्ट भनाइ राखेका छौँ ।

माधव कमरेडले स्पष्ट भन्नुभयो, ‘वामदेवजीले पनि फोन गरेर शनिबारको भेटमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भनेका कुरामा म अडिग छु, त्यसबाट म दायाँ–बायाँ हुन्न र भएको छैन भनिरहनुभएको छ, संकट समाधानको उपाय त्यही हो, अरू उपाय केही छ भने पनि बैठकमा छलफल गरेर अघि बढौँ।’

जहाँ कमजोरी छन्, सच्याएर अघि बढ्नुपर्छ, तन्काउनु हुँदैन : प्रदीप ज्ञवाली

खुलस्त र राम्रो छलफल भयो । कम्युनिस्ट आन्दोलन, राजनीतिक स्थिरता र देशको भविष्यप्रति साझा चिन्ता प्रकट भएको छ । त्यो चिन्तालाई आधार बनाएर समझदारी खोज्नुपर्छ । जहाँजहाँ कमीकमजोरी छन्, ती ठाउँहरूममा समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो । 

बैठक बस्न जरुरी पनि छ, तर पहिले नै पोजिसन बनाएर गरिने बैठकबाट समाधान हुँदैन । त्यसकारण विभिन्न अनौपचारिक तहमा कुराकानी गरेर, अनुकूल वातावरण बनाएर बैठक बस्दा राम्रो हुन्छ भन्ने कुरा हामीले ग¥यौँ । छलफल सकारात्मक भएको छ ।

कर्ण थापाको टिप्पणी : प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामाको माग पार्टी विभाजनको प्रस्ताव

ओलीनिकट नेता कर्णबहादुर थापाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई पार्टी विभाजन गराउने प्रस्ताव भनेका छन् । कोटेश्वरमा ओली र नेपाल समूहका नेताहरूबीच छलफल भइरहेका वेला नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो । सकिँदा केपी मात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मूर्खताभन्दा अरू के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’नयाँ पत्रिका दैनिकमा रोजङ्ग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्