अब सामाजिक दुरीसहित विकास निर्माण, क्रसर पनि सञ्चालनमा



मेलम्ची : बन्दाबन्दीलाई पूर्णपालना गर्दै सिन्धुपाल्चोक जिल्लामा रोकिएका विकास निर्माणका कामलाई सुचारु हुने भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र कार्यालयका प्रमुखलगायतको संयुक्त बैठकले सामाजिक दुरी कायम गरी विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय गरेको हो ।

विकास निर्माणका काम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहले समन्वय गरी पास उपलब्ध गराउने र आवश्यक सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताका लागि सहजीकरण गर्ने उपसमितिबाट समन्वय गराउने निर्णय भएको छ । बैठकले जिल्लामा सञ्चालित क्रसरहरु सुचारु गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहसँग समन्वय गरेर सामाजिक दुरीलाई कायम गर्दै क्रसर सञ्चालन गर्न अनुमति दिने निर्णय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद शेरबहादुर तामाङले बताए ।

त्यसैगरी कृषिलगायत आवश्यक अन्य सामाग्री साल्ट ट्रेडिङसँग सहकार्य गरेर स्थानीय तहले ल्याउने र कृषकको मागअनुसार वितरण गर्ने निर्णय भएको छ । बैठकले जिल्ला बाहिरबाट आउने माथि निगरानी गर्दै बन्दाबन्दीलाई कडाइ गर्ने पनि निर्णय गरेको छ ।

शिक्षाको तयारी

समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले कक्षा एक देखि नौ सम्मको वार्षिक परीक्षाको परीक्षाफल तुरुन्त प्रकाशन गरिने र नयाँ शैक्षिक सत्रका कक्षा स्थानीय रुपमा उपलब्ध स्रोत साधनबाट सञ्चालन गरिने निर्णय भएको बताए । उहाँले इन्टरनेट, एफएम रेडियो, तथा टेलिभिजन के मार्फत सकिन्छ स्थानीय उपलब्धतालाई हेर्दै पठनपाठन सञ्चालन गर्न स्थानीय तहहरुलाई जिम्मेवारी दिइएको बताए ।

नागरिकलाई घरमै स्वास्थ्य सेवा

त्रिपूरासुन्दरी गाउँपालिका– ३ मा सञ्चालन भएको घरघरमा स्वास्थ्यकर्मी अभियानअन्तर्गत ३ हजार ६ सय नागरिकले घरमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् । चार दिनसम्म सञ्चालन भएको अभियानमा वडाभरका नागरिकको स्वास्थ्य जाँच गरिनुका साथै प्रयेक घरमा दुईथान डिटोल साबुन र प्रत्येक व्यक्तिलाई मास्क वितरण गरिएको थियो । “हामीले प्रत्येक नागरिकको ज्वारो, प्रेसर, रुघाखोकी लगायत स्वास्थ्य परीक्षण गर्यौं”, अभियानमा संलग्न स्वास्थ्थकर्मी रामप्रकाश यादवले भने, “परीक्षण गरेकाहरुको सवास्थ्य सामान्य पाएका छौं ।” टोल टोलमा पुगेर वडाका दीर्घरोगीहरुको विवरण संकलन गरिएको उनीहरुलाई आवश्यक औषधि प्रदान गरिएको वडाअध्यक्ष सुकदेव रिसालले बताए ।

कृषकलाई सहुलियतमा मल

बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियतरुपमा मल, बिऊ, विजनलगायत आवश्यक कृषि सामग्री प्रदान गर्न सुरु गरेको छ । बजारमा मललगायतका अन्य कृषि सामग्रीको अभाव भएपछि नगरपालिकाले सहुलियत मूल्यमा कृषि सामग्री प्रदान गर्न लागेको हो । सो नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । बाह्रविसे नगरपालिकाले यसअघि नै सर्वदलीय बैठकबाट निर्णय गराएर खाद्यनलगायत कृषि सामग्रीको सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेकपाको परिचालन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक कमिटीले कोरोना भाइरसविरुद्ध जुध्न पार्टी कमिटीलाई पनि परिचालन गरिरहेको छ । नेकपाले बन्दाबन्दीको समयमा जिल्ला कमिटीको बैठक गरेर नेता कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको हो । पार्टीक केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सचिव दावा तामाङले सबै कमिटीलाई परिचालित हुन निर्देश गरिएको बताए । जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले कोरोना विरुद्ध जुध्न सबै तहका पार्टी संगठनलाई परिचालन गरिएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्