राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमा



सिरहा: लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई सिरहाको सुखीपुर नगरपालिकाले राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमा पुगेर वितरण गरेको छ ।

सुखीपुर नगरपालिका वडा नं.९ बाट ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरी राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ भने वडा नं.८ बाट सामाजिक सुरक्षाभत्ता घरमा पुगेर वितरण शुरु गरेको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध जुधिरहेका विपन्न परिवारलाई मापदण्ड बनाएर खाद्यान्न वितरण शुरु गरेको नगरप्रमुख रामअवतार यादवले जानकारी दिए । सुखीपुर नगरपालिका-९ का दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका ३०० विपन्न परिवारलाई राहतस्वरुप प्रतिपरिवार ३० किलो चामल, ५ किलो दाललगायत सामग्री वितरण गर्न शुरु गरिएको नगप्रमुख यादवले बताए ।

नगरपालिकाकाले सबै वडामा ५-५ लाखका दरले १० वडामा ५० लाख बराबरको खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख यादवको भनाइ छ । नगरपालिकाले लकडाउनको पालन गर्दै सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण शुरु गरेको छ ।

लकडाउनका कारण कार्यालयसम्म आउने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको नगरप्रमुख यादवले बताए । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक र बालपोषणभत्ता घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई सिरहाको बरियारपट्टी गाउँपालिकाले पनि राहत वितरण गर्न शुरु गरेको छ । वडावडाबाट आएको विपन्न, मजदुर परिवारको विवरणको आधारमा राहत वितरण थालिएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए ।

प्रतिपरिवार चामल २५ किलो, दाल ३ किलो, नुन २ प्याकेट, चिनी २ किलो, खानेतेल २ लिटर, साबुन राहत वितरण शुरु गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोककुमार सिंहले बताए ।

त्यस्तै लकडाउनको मौका छोपी अवैधरूपमा काठ तस्करी गरिरहेको अवस्थामा सोमबार साँझ वन कर्मचारीको टोलीले एक तस्करलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको विशेष गस्ती टोलीले वन क्षेत्रभित्रबाट अवैध रूपमा हरियो रुख कटान गरी चोरी तस्करी गरिरहेको अवस्थामा लहान नगरपालिका-१७ का ५८ वर्षीय वकिल मियाँलाई पक्राउ गरेको हो ।
सामुदायिक वन क्षेत्रभित्रका साल जातको हरियो रुख कटान गरी तस्करी गरिरहेको अवस्थामा मियाँलाई पक्राउ गरिएको डिभिजनल वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनए ।

पक्राउ परेका मियाँलाई लहान नगरपालिका-१७ का वडाध्यक्ष प्रथमलाल चौधरीको जिम्मा जमानीमा बुझाइएको प्रमुख दासले बताए । त्यसैगरी सवडिभिजन वन कार्यालय बन्दीपुर अन्तर्गतको वन क्षेत्रमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा एक थान जेसिबी पक्राउ गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्