धान मिलमा आगलागी हुँदा १५ लाख क्षति



झापा: झापा गाउँपालिका-३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ ।

झापा-३ का प्रसाद राजवंशीले संचालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चट्याङ परी विद्युतको तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको २ कच्ची घरसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट ५० ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

गए राति करिब निर्माणाधीन मेची पुलमुनि खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ का ५८ वर्षीय बच्चु चौधरीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्