
म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणको लागि गएको अर्को टोली सुरक्षित रहेको बताइएको छ । गूर्जा हिमालको रेन्जमा पर्ने घुस्तुङ पिक आरोहणको लागि राजन भोटेको नेतृत्वमा ७ जना फ्रान्स तथा १ र १ जना स्विजरल्याण्ड र क्यानडाका नागरिक टोली सुरक्षित रहेको टोलीका सदस्यलाई उद्धृत गर्दै वडाध्यक्ष झक छन्त्यालले बेनी बताए ।
उनका अनुसार मौसम अनुकल भए पनि एक्कासी हावाहुरीले गूर्जा हिमालको आरोहणमा गएको टोलीले ज्यान गुमाएपछि अर्को टोलीको अवस्थाका बारेमा बुझ्ने क्रममा सुरक्षित रहेको बताइएको छ ।
उनका अनुसार गूर्जा पश्चिम हिमालको नामले समेत चिनिने हिमाल ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा गाउँबाट यात्रा गरेको टोलीलाई हावाहुरी चल्ने सम्भावना भएकाले सुरक्षित हुन अनुरोध गरिएको छ ।
जिल्लाको ग्रामिण पर्यटनमा सुन्दर गन्तब्यको रुपमा रहेको गूर्जाको हिमाल आरोहणमा पहिलो पटक सबैभन्दा ठुलो दुर्घटना भएको छ । शुक्रबार हिमाल आरोहणको तयारी सहित बेसक्याममा पुगेको टोली हिमपहिरोमा परेपछि शनिबार बिहानै देखी उद्धार सुरु गरिएको थियो ।
जिल्लाको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको गूर्जा आसपासमा रहेका हिमश्रृंखलामा विदेशी पर्यटकको आर्कषण बढ्दै जान थालेको अवस्थामा कोरियाली आरोही नै आँधीहुरीमा परेपछि स्थानीयबासी चिन्तित छन्।
धौलागिरी रेन्जमा पर्ने गूर्जा हिमाल सहित चुरेन, पुथा हिमालमा धेरै पर्यटक आउँछन् । गूर्जा हिमाल ७ हजार ३७१ मिटर, पुथा ७ हजार २६१, गुर्जा पश्चिम ६ हजार ४६५ लगाएत करिव आधादर्जन हिमश्रृखला रहेका छन् । पर्यटकको आगमन बढ्दै जान थालेपछि होमस्टे सहित गाईड र भरियाको रोजगारी पाएका थिए ।