बिरामीको घरमै पुगेर निः शुल्क दाँतको उपचार



काठमाडौं : दाँत दुख्ने समस्याले हैरान हुनुहुन्छ ? लकडाउनको समयमा दाँत दुख्ने समस्या भए पनि उपचारका लागि जान नसक्दा वा नजिकैका स्वास्थ्य संस्थामा सेवा बन्द हुँदा तपाई दुखाइ सहेर बस्न बाध्य भएको हुन सक्छ । यदि त्यसो हो भने अब तपाईले लकडाउनको समयमा सजिलै दाँत तथा मुखको उपचार पाउनुहुनेछ ।

चावहिलस्थित ओम समाज डेन्टल अस्पतालले लकडाउनका समयमा अत्यावश्यक सेवा बिरामीको घरमै पुगेर दिइरहेको छ । कोभिड-१९ का त्रासका कारण कतिपय निजी स्वास्थ्य संस्थाले उपचार नगरी बिरामी फर्काएको सञ्चार माध्यममा आइरहँदा यो अस्पतालले भने बिरामीको घरमा पुगेर निः शुल्क सेवा दिइरहेको छ ।

अस्पतालले सामाजिक सेवाका लागि छुट्याएको २० प्रतिशत रकमबाटै निः शुल्क उपचार गर्दै आएको अध्यक्ष डा.सुवास घिमिरेले बताए । अस्पतालले उपचार खर्च, त्यहाँसम्मको यातायात खर्च मात्रै नभएर औषधिसमेत निःशुल्क उपलब्ध गराइरहेको छ । उनले भने, “अहिलेसम्म अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन भइरहेकाले अरुको सहयोग लिइएको छैन ।”
अस्पतालले लकडाउन घोषणा भएको दुई÷तीन दिनदेखि नै यो सेवा शुरु गरेको थियो । एक महिनाको अवधिमा २०० जनाभन्दा बढी सेवा दिइएको अस्पतालले जनाएको छ ।

अस्पतालको फेसबुकपेज र वेवसाइटमार्फत टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउने गरेका छन् । ती व्यक्तिको समस्या जाँच नै गर्नुपर्ने भएमा स्वास्थ्यकर्मीलगायत टोली त्यहाँ पुग्ने गरेको छ । पहिले नै यो ठाउँमा जाने भन्ने टुङ्गो लागेपछि त्यस रुटमा पर्ने अरु व्यक्तिको समेत उपचार हुन्छ । उनले भने,“बिहान १० बजे निस्केपछि हामी साँझ मात्रै फर्कने गरेका छौँ ।”

सातामा छ दिन सेवा दिने भनिए पनि आकस्मिक अवस्थामा ७ दिन नै सेवा दिइएको अस्पतालका अध्यक्ष डा घिमिरेले बताए । अस्पतालको गाडीमा दन्तरोग विशेषज्ञ, सहयोगीलगायत १२ जनाको टोली हिँड्ने गरेको छ । अस्पतालका टोलीे उपचारका लागि दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित एम्बुलेन्स लिएर जाने गरेका छन् । गाडीमा अस्पतालमा जस्तै आवश्यक सबै स्वास्थ्य सामग्री रहेको उनले बताए ।

कुनै पनि रुटको तय भएपछि टोली बिहानै चावहिलस्थित अस्पतालबाट निस्कने गरेको छ । सल्लाघारी रुट पर्दा चावहिलबाट गौशाला, तीनकुने, जडीबुटी, अरनिको राजमार्ग हुँदै त्यस रुटमा रहेका बिरामी एकै दिनमा हेर्ने गरेको छ । त्यस्तै, अरु ठाउँमा जाँदा पनि कुन रुट भएर जाने र कुन–कुन बिरामीको घरमा जाने भन्ने पहिला नै योजना बनाइने डा.घिमिरेले बताए । उनले भने,“हामीले यो रुटमा जाने भन्ने सामाजिक सञ्जाल वा वेबसाइटबाट थाहा पाएपछि मेरो घरमा आउनुहोस् भनेर उहाँहरु नै सम्पर्क गर्नुहुन्छ ।”

अस्पतालले विशेष गरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यो सेवा शुरु गरेको हो । यी व्यक्ति अस्पतालसम्म जाने नसक्ने र नजिकैका अस्पतालले पनि सेवा नदिएको हुनसक्ने भन्दै उपत्यकाका सबै स्थानमा यो सेवा दिइएको हो । अस्पतालले आफूसँग भएको ज्ञान, प्रविधि र उपकरणको प्रयोग गरेर बिरामीलाई सेवा दिइरहेको हो । कतिपयले कोभिड-१९ बाहेक अस्पतालले अरु उपचार गर्दैनन् भन्ने सोचेर पनि दुखाइ सहेको हुनसक्ने उनले बताए ।

उनले भने, “कतिपय बिरामी आफैँ एन्टिवायोटिक खाएर पनि निको नभएको सुनाउँ छन् ।” दाँतको उपचारका लागि आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर नै स्वास्थ्यकर्मी घर–घरमा पुग्ने गरेका छन् । अस्पतालले किन्न खोज्दा पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) नपाएपछि आफैँले उत्पादन गरेर प्रयोग गरिरहेको डा.घिमिरेले बताए । उनले भने, “हामी आफैँले आवश्यक मात्रामा बनाइरहेका छौँ ।”

अहिलेसम्म उपचार गरिएका बिरामीका आधारमा यो समयमा बिरामीमा गिजा सुन्निने, सङ्क्रमण फैलने र दाँत सहन नसक्ने गरी दुख्ने समस्या बढी पाइएको छ । सामान्य अवस्थामा पनि मुखको स्वास्थ्यलाई कम ध्यान दिइने गरिएको डा घिमिरेले बताए । नेपालमा मृत्युका प्रमुख कारण मानिएका रोगहरु मुखका रोगसँग सम्बन्धित भए पनि धेरैले मुखको स्वास्थ्यलाई हेलचेक्राइ गरेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्